युवा मिडफिल्डर जुड बेलिंघमको दुई गोलको सहयोगमा शनिबार राति रियल म्याड्रिडले सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनालाई २–१ ले हराएको छ । बार्सिलोनाको घरेलु मैदानमा रियललाई जित दिलाउन बेलिंघमले उत्कृष्ट प्रदर्शन गरेका थिए । करिअरकै पहिलो एल क्लासिकोमा बेलिंघमले रियललाई पुनरागनम जित दिलाएका हुन् ।
बार्सिलोनाका इल्काए गुन्डोगानले अग्रता गोल गरेका थिए । खेलको सातौँ मिनेटमा गुन्डोगानले बार्सिलोनालाई १–० ले अगाडि राखे । रियलका डिफेन्डरको गल्तीमा गुन्डोगानले सहजै गोल गरे । खेलको १६औँ मिनेटमा फर्मिन लोपेजको प्रहार क्रसबारमा लाग्दा बार्सिलोनाले दोहोरो अग्रता लिने अवसर गुमाएको थियो ।
बार्सिलोनाले आफ्नो घरेलु मैदानमा गतिलो प्रदर्शन गर्न सकेन । बल नियन्त्रण बार्सिलोनको राम्रो थियो । तर, बार्सिलोनाको फिनिसिङ लाइन राम्रो भएन । पहिलो हाफमा बार्सिलोना १–० ले अघि रह्यो । रियलले बार्सिलोनाको मैदानमा ६८औँ मिनेटमा १–१ को बराबरी गोल फर्काएको थियो । बेलिंघमले पोस्टभन्दा ३५ यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो ।
खेलको अन्तिम समयमा बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दा रियल २–१ ले विजयी भयो । २० वर्षीय इंग्लिस मिडमिल्डर बेलिंघमले यस सिजनमा क्लब तथा देशका लागि १६ खेलमा १३ गोल गरिसकेका छन् । जितपछि रियल स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । ११ खेलमा रियलको सर्वाधिक २८ अंक छ । दोस्रो स्थानमा रहेको जिरोनाको पनि समान २८ अंक छ ।