पाटन दरबार स्क्वायरमा गुटेरेस

सोमबार, १३ कार्तिक, २०८०
डिजिटल संस्करण
पाटन दरबार स्क्वायरमा गुटेरेस

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई पाटन दरबार स्क्वायरमा रहेका प्राचीन एवं सांस्कृतिक सम्पदाबारे जानकारी गराउँदै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन । तस्बिर : संजित परियार/नयाँ पत्रिका

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालका ऐतिहासिक एवं पुरातात्विक  महत्वका सम्पदाको संरक्षणमा जोड दिएका छन् । पाटन दरबार क्षेत्रको अवलोकनपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले पुरातात्विक महत्वका सम्पदाको वास्तविक स्वरूप बिग्रन नदिन विशेष प्रयत्न गर्नुपर्नेमा जोड दिए । ‘भावी पुस्ताका लागि नेपालका यस्ता ऐतिहासिक सम्पदाको संरक्षणमा विशेष ध्यान दिनुपर्छ । यसले नेपालको भविष्य उज्ज्वल हुनेछ,’ उनले भने ।

सन् १९७८ मा पनि आफूले नेपाल भ्रमण गरेको स्मरण गर्दै गुटेरेसले नेपालको प्राकृतिक सौन्दर्य र सम्पदाबाट आफू मन्त्रमुग्ध भएको बताए । उनले नेपाल सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन लागेको बताउँदै यस्ता ऐतिहासिक सम्पदाले पर्यटकलाई आकर्षित गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्न सक्ने बताए । 

गुटेरेसले पाटन दरबार स्क्वायरमा रहेका प्राचीन एवं सांस्कृतिक सम्पदाको निरीक्षण गरे । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्वागत गर्दै महासचिव गुटेरेसलाई त्यहाँको ऐतिहासिक सांस्कृतिक अवस्थाबारे जानकारी गराएका थिए ।

सोमबार र मंगलबार हिमालदेखि पोखरा र लुम्बिनी भ्रमण, संसद्लाई सम्बोधन 
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट सोलुखुम्बुको स्याङ्बोचे जाने कार्यक्रम छ । एभरेस्ट भ्यु होटलमा उनले स्थानीय बासिन्दासँग जलवायु परिवर्तनले पारेको असरबारे अन्तरक्रिया 
गर्नेछन् । त्यहीँ बिहानको नास्ता खाएर उनी काठमाडौं फर्कनेछन् । 

संयुक्त राष्ट्रसंघ कार्यालय पुल्चोकमा उनलाई ‘ब्रिफिङ’ राखिएको छ । साँझ उनी पोखरा गएर होटल फिस्टेलमा विश्राम गर्नेछन् । मंगलबार उनी अन्नपूर्ण आधार शिविर गएर स्थानीय बासिन्दासँग जलवायु परिवर्तनको असरबारे छलफल गर्ने कार्यक्रम छ । त्यहाँबाट फर्केर उनी लुम्बिनी जानेछन्, जहाँ मायादेवी मन्दिरलगायतका स्थानको दर्शन गर्ने र बिरुवा रोपेर काठमाडौं फर्कनेछन् । मंगलबार अपराह्न ४ बजे उनले संघीय संसद्लाई संयुक्त रूपमा सम्बोधन गर्नेछन् । बुधबार बिहान कतार एयरलाइन्सको उडानबाट उनी दोहा प्रस्थान गर्नेछन् । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नेछन् । 

सुझावित समाचार