ऐतिहासिक पदक विजेता पलेशाको स्वागत

चीनको हाङझाउमा भएको चौथो पारा एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई एक मात्र कांस्य पदक दिलाएकी पलेशा गोवर्धनको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत

सोमबार, १३ कार्तिक, २०८०
डिजिटल संस्करण

चीनको हाङझाउमा भएको चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दोकी पलेशा गोवर्धनको भव्य स्वागत भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङलगायतले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पलेशालाई स्वागत गरेका थिए । पदक विजेता पलेशा केही दिनका लागि नेपाल आएकी हुन् । पलेशा सांघाईस्थित तोङजी विश्वविद्यालयमा आर्किटेक्चर इन्जिनियरिङको स्नातक तहमा अध्ययनरत छिन् । उनी ७ नोभेम्बरमा सांघाई फर्किंदै छिन् । 

सांघाईबाटै एसियाली पारा खेलकुदमा सहभागी हुन उनी हाङझाउ गएकी थिइन् । गत ७ कात्तिकमा पारा एसियाडअन्तर्गत महिला के–४४ क्याटागोरीको ५७ केजीमुनि क्वार्टरफाइनलमा पलेशाले चीनकी लिटिङ याङलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन् । फाइनल प्रवेशको प्रतिस्पर्धामा पलेशा कजाकिस्तानकी कमिल्यासँग पराजित भए पनि रिपेचेजमा बाई पाएपछि उनको कांस्य पदक पक्का भएको थियो । पारा एसियाली खेलकुदमै नेपालले जितेको पहिलो पदक नै यही कांस्य हो । नेपालले पहिलो संस्करणदेखि नै एसियाली पारा खेलकुदमा सहभागिता जनाए पनि तेक्वान्दो भने चौथो संस्करणदेखि मात्र समावेश गरिएको हो ।

‘पलेशा सम्भावना बोकेकी खेलाडी हुन्, तपाईंहरूलाई पनि बधाई छ,’ स्वागत गर्ने क्रममा सदस्यसचिव घिसिङले भने । विमानस्थलमा पलेशाका बुबा–आमा पनि उपस्थित भएका थिए । ‘पलेशाबाट हामी र राष्ट्रले अझ धेरै आशा गरेका छौँ, अहिले पदक जितेर उनले खुड्किलो मात्र उक्लेको हो,’ घिसिङले पलेशाको प्रशंसा गर्दै भने, ‘चुचुरोमा पुग्नु अझै बाँकी छ । पारा ओलम्पिकमा पदक जितेर अर्को इतिहास रच्न बाँकी नै छ ।’ 

पढाइ र प्रशिक्षण गाह्रो
पारा एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउनुअघि पलेशाले सांघाईमै अध्ययन र प्रशिक्षण गरेकी थिइन् । यद्यपि, प्रशिक्षण र अध्ययन सोचेजस्तो हुन सकेन । उनले सोचेभन्दा गाह्रो पाइन् । ‘म पढ्न चाइना जाँदा पढाइ र ट्रेनिङलाई सँगै लाने सोचेकी थिएँ, तर सोचेभन्दा गाह्रो भयो,’ अनुभव सुनाउँदै उनले भनिन्, ‘यहाँ (नेपाल) हुँदा परिवार, गुरु सबैले सहयोग गर्नुहुन्थ्यो । त्यही भएर सजिलो पनि भएको थियो । त्यहाँ (चीन) सबै आफैँले गर्नुपर्ने थियो, यसै कारण गाह्रै भयो ।’ सांघाईमा अध्ययन र प्रशिक्षणको समय मिलाएको पलेशाको भनाइ छ । 

‘मैले हार मानिनँ । जसरी पनि पढाइसँगै ट्रेनिङको लागि पनि समय मिलाएँ । खेलको दिन नर्भस पनि थिएँ,’ उनी भन्छिन्, ‘धेरै समयपछि रिङमा खेल्न गएकी थिएँ, तर जसरी भए पनि जित्नुपर्छ भन्नेचाहिँ थियो ।’ एसियन पारा गेम्समा अहिलेसम्म नेपालले पदक नजितेको अवस्थामा आफूमाथि दबाब भएको उनले बताइन् । ‘ममाथि पदकको आशा थियो, यसै कारण दबाब पनि उत्तिकै थियो, पहिलो पदक जितेकोमा खुसी थिएँ, तर मेरो टार्गेटचाहिँ स्वर्ण नै थियो, रजत पदकको फाइटमा पनि थोरैले पराजित भएँ । दुःख पनि लागेको थियो,’ उनले भनिन्, ‘तर, पदक तालिकामा राष्ट्रलाई शून्यको अवस्था हुनबाट जोगाएकोमा एकदमै खुसी छु ।’

See More On

सुझावित समाचार