दसैँ मनाउन घर गएकाहरू कर्मथलो फर्कन थाले

शुक्रबार, १० कार्तिक, २०८०
डिजिटल संस्करण

दसैँ मनाउन काठमाडौं उपत्यकाबाहिर जानेहरू फर्कन थालेपछि काठमाडौं भित्रिने नाकामा भिड देखिन थालेको छ ।

उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटाउनुपर्ने अवस्था आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलको भनाइ छ ।

नागढुंगा, साँगा नाकामा सवारीसाधनको लामो लाइन लागेको छ । नाकामा थप प्रहरी टोली परिचालन गरी व्यवस्थापन गर्न लागिएको उनको भनाइ छ । दसैँको नवमी र दशमीका दिन काठमाडौं उपत्यकामा यातायात शून्यजस्तै बनेका थिए । नाकामा सवारीसाधनको चाप बढेसँगै उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।

यस वर्ष दसैँको अवसरमा उपत्यकाबाट १६ लाखभन्दा बढी मानिस बाहिरिएका थिए । उनीहरू टीकाको भोलिपल्टदेखि फर्कन थालेकाले भिड देखिएको हो । उपत्यकाभित्र चल्ने सवारीसमेत बाहिरी जिल्लातर्फ यात्रु ओसार्न गएकाले उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनमा केही कमी देखिएको छ ।     

See More On

सुझावित समाचार