मूर्ति विसर्जनका क्रममा बेपत्ता भएकाको खोजी जारी

बुधबार, ८ कार्तिक, २०८०
डिजिटल संस्करण

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा दुर्गा मूर्ति विसर्जनका क्रममा मंगलबार दानव खोलामा डुबेर बेपत्ता भएका एकजनाको खोजीकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । 

सो दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको थियो भने एकजना हराएका थिए । कोटहीमाई गाउँपालिका– १ अमरगन्जबाट मूर्ति विसर्जन गर्न दानव खोलामा गएका तीनैजना एकसाथ खोलामा डुबेको स्थानीयले बताएका छन् ।

सो दुर्घटनामा परेर हराइरहेका २० वर्षीय सन्तकुमार राजभरको खोजीकार्य भइरहेको र घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजीका लागि खटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

कोटहीमाई गाउँपालिका– १ दुईमोहानघाटस्थित दानव खोलामा डुबेर मृत्यु भएका दुईजनाको शव खोजतलासका क्रममा हिजो नै स्थानीयले फेला पारेका थिए । उनीहरूको शव पोस्टमार्टमका लागि भैरहवा लगिएको छ । 

खोलामा डुबेर मृत्यु हुनेमा अमरगन्जका २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेका छन् । मृतक नाउँ जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत प्रहरी जवान हुन् । 

दसैँ मान्न घरमा गएका उनकाे मूर्ति विसर्जनका क्रममा दानव खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिए । (रासस)

सुझावित समाचार