नेपाललाई सुरुवाती झड्का, १३ बल खेल्दा तीन खेलाडी आउट

टी-२० ट्र्यांगुलर

सोमबार, ६ कार्तिक, २०८०
डिजिटल संस्करण

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृंखलाअन्तर्गत लिगचरणको अन्तिम खेलमा युएईले दिएकाे एक सय ६५ रनको लक्ष्य पछ्याएको नेपालले सुरुवातमै झड्का व्यहोरेको छ । 

२.१ ओभरभित्र नेपालले तीन विकेट गुमाइसकेको छ । ओपनर कुशल भुर्तेल, सोमपाल कामी र कुशल मल्ल पेभेलियन फर्किसकेका छन् । 

पहिलो ओभरको तेस्रो बलमै ओपनर कुशल भुर्तेल प्लेडअन हुँदै आउट भए । युएईका मोहम्मद जबदुल्लाहको तेस्रो बल खेल्ने क्रममा बलले उनको ब्याटको भित्री किनारा लिँदै अफ स्टम्प उडाइदियो । दुई बल खेलेका कुशलले एक रन बनाए ।

कुशल आउट भएपछि क्रिजमा आएका सोमपाल कामीले पनि आज निराश बनाए । अकिफ राजाको बलमा ठूलो सट प्रहार गर्न खोज्दा उनी भृत्य अरविन्दको हातमा सहज क्याच थमाउन पुगे । चार बल खेलेका उनले दुई रन बनाए । 

नेपालले लगत्तै जारी शृंखलामा विस्फोटक ब्याटिङ गरिरहेका कुशल मल्ललाई गुमायो । उनी जगदुल्लाहको बलमा अनावश्यक रूपमा रन लिन खोज्दा रनआउट हुन पुगे । जारी शृंखलामा उनी दोस्रोपटक रनआउट भएका हुन् । दुई बल मात्र खेलेका कुशलले कुनै रन बनाउन सकेनन् । 

अहिले क्रिजमा अर्का ओपनर आसिफ शेख र कप्तान रोहित पौडेल छन् । चार ओभर सकिँदा नेपालले तीन विकेट गुमाएर २४ रन बनाएको छ । 

मूलपानीस्थित क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात खेलाडीको क्षतिमा एक सय ६४ रन बनाएपछि नेपाल अहिले लक्ष्य पछ्याइरहेको हो ।

युएईका तर्फबाट विकेटकिपर ब्याटर भृत्य अरविन्द र  बसिल हमिदले सर्वाधिक ४५–४५ रन बनाए । यस्तै, आसिफ खानले १८, खालिद साहले १२, अलिसान सराफु र अली नासिरले नौ–नौ तथा कप्तान मुहम्मद वसिमले आठ रन बनाए ।  

बलिङमा नेपालका लागि सोमपाल कामी र अविनाश बोहाेराले दुई–दुई तथा करण केसी र गुल्सन झाले एक–एक विकेट लिए । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कुनै विकेट लिन सकेनन् । एक ओभर मात्र बलिङ गरेका दीपेन्द्रलाई युएईका ब्याटरले १८ रन हाने । 

शृंखलाभरि उत्कृष्ट फर्ममा रहेका करण आजको खेलमा प्रभावशाली देखिएनन् । उनले चार ओभरमा ५३ रन दिए । यस्तै, चार ओभरमा सोमपालले ३३ रन दिए । 

आजको खेलमा नेपालले ललित राजवंशीको स्थानमा विवेक यादवलाई खेलाएको छ । 

सुझावित समाचार