हङकङलाई ७९ रनले हराउँदै नेपाल फाइनलमा

टी-२० ट्र्यांगुलर सिरिज

शनिबार, ४ कार्तिक, २०८०
डिजिटल संस्करण

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० प्रतियोगिताको तेस्रो खेल जित्दै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङलाई ७९ रनले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो । नेपालले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरमा आठ विकेट गुमाएर जम्मा एक सय ३४ रन बनायो । 

नेपालका लागि करण केसी, सोमपाल कामी र ललित राजवंशीले दुई–दुई तथा दीपेन्द्रसिंह ऐरी र डेब्यु ब्वाई प्रतीश जिसीले एक विकेट लिए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले हङकङविरुद्ध रनको पहाड खडा गरेको थियो । 

कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गर्दै एक सय ४५ रनको साझेदारी गरेपछि नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय १३ रन बनाएको थियो । 

कुशल मल्लले ४१ बलमा नौ छक्का र तीन चौकाको मद्दतमा ९२ रन बनाए । यस्तै, दीपेन्द्रले ३४ बलमा ५७ रनको योगदान दिए । उनले दुई छक्का र ६ चौका प्रहार गरे । 

हङकङले फिल्डिङका निकै कमजोर प्रदर्शन गर्दा नेपाली खेलाडीले पटकपटक मौका पाएका थिए । 

दोस्रो ओभरको पहिलो बलमै कुशल भुर्तेललाई गुमाएपछि नेपालले सोमपाल कामीलाई उनको स्थानमा पठाएको थियो । तर, सोमपाल चल्न सकेनन् । १२ बलमा आठ रन बनाई उनी आउट भए भने टिमको स्कोर ४० रन हुँदा २० रन बनाएका आसिफ शेख पनि आउट भए । 

१५ रन थप्दा नेपालले कप्तान रोहित पौडेललाई गुमायो । रोहितले १६ बलमा ११ रन मात्र बनाए । 

तर, त्यसपछि क्रिजमा रहेका कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले चौका र छक्का वर्षाउँदै रनको पहाड खडा गरे । 

सुझावित समाचार