मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा शुभम् फाउन्डेसनकाे याेगदान

शनिबार, ४ कार्तिक, २०८०
डिजिटल संस्करण

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा भर्खरै सम्पन्न ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी– २०८०’ कार्यक्रम अवधिभरको खाना, खाजा तथा वासको सम्पूर्ण खर्च शुभम् फाउन्डेसन खोटाङले निःशुल्क उपलब्ध गराएको छ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौंले गत असोज १७ देखि २२ गतेसम्म दिक्तेल बजारमा सञ्चालन गरेको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रममा सहभागी चित्रकार तथा आयोजकले खाएको खाना, खाजा, वास तथा यहाँ उपलब्ध यातायातको सम्पूर्ण खर्च शुभम् फाउन्डेसनले निःशुल्क उपलब्ध गराएको नगरपालिकाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

चित्रकला कार्यशाला तथा कला प्रदर्शनीमा नेपालसहित अस्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका गरी १४ देशका ४३ जना ख्यातिप्राप्त चित्रकार सहभागी भएका थिए । 

पाँच दिनसम्म सञ्चालन भएको कार्यक्रममा सहभागी चित्रकार तथा अतिथिका लागि खाना, खाजा, वास, यातायात तथा औषधाेपचारमा लागेको सम्पूर्ण खर्च निःशुल्क गरिएको शुभम् फाउन्डेसनका प्रबन्ध–निर्देशक सूर्यबहादुर राईले जानकारी दिए ।

शिक्षामा नयाँ अभ्यास गरिरहेको शुभम् फाउन्डेसनमा अध्ययन गर्ने विद्यार्थीले विदेशी पाहुनाका लागि समेत उपयुक्त हुने होमस्टे (घरवास)सहितको गेस्टहाउस (पाहुना घर)समेत सञ्चालन गरेका छन् । विदेशी पाहुनाका लागि दिक्तेलमा उपयुक्त होटेलहरू नभइरहेको अवस्थामा शुभमले ठूलो योगदान गरेको छ ।

कार्यक्रममा सहभागी ख्यातिप्राप्त चित्रकार तथा अतिथिलाई शुभमका विद्यार्थीहरूले विभिन्न जातजातिको संस्कार, संस्कृतिसँग आधारित सांगीतिक मनोरञ्जनसमेत गराएका थिए । शुभमका विद्यार्थीले आयोजना गरेको सांगीतिक तथा सांस्कृतिक कार्यक्रममा स्वदेशी तथा विदेशी चित्रकारहरूले भरपूर मनोरञ्जन लिएका थिए ।

दिक्तेलमा आयोजना गरिएको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रम सफल भएको नगर प्रमुख तीर्थराज भट्टराईले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । ‘नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको अन्तर्राष्ट्रियस्तरको कार्यक्रम सफल पार्न सबैको सहयोग रह्यो । कार्यक्रम अवधिभरमा खाना, खाजा, वास तथा यातायातमा  दश लाखभन्दा बढी खर्च भएको थियो । त्यो सम्पूर्ण खर्च शुभमले निःशुल्क गरेको छ । यसले नगरपालिकालाई ठूलो सहयोग मिल्यो,’ उनले भने, ‘विश्वमा ख्यातिप्राप्त चित्रकार ल्याएर सञ्चालन गरिएको यो कार्यक्रमले नगरपालिकाको मात्र नभई जिल्लाकै गरिमा बढेको महसुस गरेका छौँ । यो जिल्लाका लागि ठूलो उपलब्धि हो ।’

कार्यक्रममा सहभागी स्वदेशी तथा विदेशी चित्रकारले नगरपालिकाको विभिन्न धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलहरूमा पुगेर आफ्नोअगाडि देखिएका दृश्यको प्रत्यक्ष चित्र कोरेका थिए । दिक्तेलमा पाँच दिनसम्म सञ्चालन गरिएको अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनीका क्रममा चित्रकारहरूले एक सय नाैवटा क्यानभास चित्र उतारेको नगरपालिकाले जनाएको छ ।

दिक्तेलबाट काठमाडौं फर्किएर पनि स्वदेशी तथा विदेशी चित्रकारहरूले क्यानभासमा दर्जनभन्दा बढी चित्र उतार्ने काम गरेको नगर प्रमुख भट्टराईले जानकारी दिए । नगरपालिकाको आयोजनामा तयार पारिएको चित्र काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा राखेर प्रदर्शनी गर्ने योजना बनाइएको नगरपालिकाले जनाएको छ ।

जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाको १८ लाख खर्चमा चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरिएको नगर उपप्रमुख विशन राईले जानकारी दिए । ‘स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारले उतारेका चित्रहरू हाम्रो नगरपालिकाको सम्पत्ति हो । यसलाई नगरपालिकाको लगानीमा संग्रहालय बनाएर राख्ने योजना बनाएका छौँ,’ उनले भने, ‘चित्रकारले प्रत्यक्ष कोरेका यी चित्रहरू नगरपालिकाको आम्दानीको आन्तरिक स्रोत हो । तत्कालका लागि प्रत्यक्ष फाइदा नदेखिए पनि हामीले इतिहास निर्माण गरेका छौँ ।’

जिल्लामै पहिलोपटक दिक्तेलमा आयोजना गरिएको प्रत्यक्ष चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रम हजारौँले अवलोकन गरेका छन् । प्रत्यक्ष चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रम अवलोकन गर्न आएका अधिकांश सहभागीले नगरपालिकाको यो कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् । 

See More On

सुझावित समाचार