नवरात्र सुरु भएसँगै दसैँ मनाउन काठमाडौंबाट घर जानेको संख्या दिनहुँ बढ्दो छ । पछिल्लो दुई दिनमा मात्रै (बुधबार र बिहीबार) दुई लाख हाराहारीले काठमाडौं छाडेको तथ्यांक छ । घर जानेहरूको संख्या बढ्न थालेकाले उपत्यका बाहिरिने नाका तथा सडकखण्डमा यात्रु र सवारीसाधनको चाप बढेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बुधबार ९८ हजार यात्रुले उपत्यका छाडेका छन् । त्यस्तै, बिहीबार उपत्यका छाड्नेको संख्या एक लाखभन्दा बढी छ । घटस्थापनायता सार्वजनिक सवारीसाधनमार्फत उपत्यकाबाट बाहिरिनेको संख्या चार लाख ६५ हजारभन्दा बढी रहेको प्रहरीको तथ्यांक छ । अझ यो तथ्यांक शुक्रबार तथा शनिबार बढ्ने अनुमान छ । सरकारी कार्यालय तथा अन्य रोजगार क्षेत्रहरूसमेत शनिबारदेखि केही दिनका लागि बन्द हुने भएकाले फूलपातीदेखि उपत्यका छाड्नेको संख्या एक लाख २० हजारभन्दा बढी हुने अनुमान गरिएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिआइजी पोषराज पोखरेलका अनुसार उपत्यका छाड्ने यात्रुहरूको चाप दिन–प्रतिदिन बढ्दो छ । ट्राफिक प्रहरीले उपत्यकाका १५ भन्दा बढी ठाउँमा यात्रु सहायता कक्ष राखेर यात्रुहरूलाई सहायता गर्दै आइरहेको छ । त्यस्तै, ट्राफिक व्यवस्थापनलाई पनि चुस्त पार्न अन्य समयको तुलनामा बढी ट्राफिक परिचालन गरिएको छ । ‘उपत्यका छाड्नेको संख्या बढ्दो छ, यो संख्या अझ बढ्छ ।’ उनले भने, ‘चाडबाडमा हुने दुर्घटना रोक्न हामीले सवारीसाधन चेकजाँचलाई तीव्र बनाएका छौँ ।’
हालसम्म सडकमार्ग हुँदै सार्वजनिक सवारीसाधनमार्फत बाहिरिनेको संख्या चार लाख ६५ हजार छ । तर, उपत्यकाबाट बाहिरने संख्या यति मात्रै होइन । घटस्थापनायता निजी सवारीसाधनबाट घर फर्कनेको संख्या पनि ठूलो छ । ट्राफिक कार्यालयका अनुसार मोटरसाइकलबाट एक लाख, अन्य निजी सवारीसाधनबाट एक लाख र हवाईमार्गबाट ४० हजारभन्दा बढी यात्रुहरू बाहिरिसकेका छन् । यो सबै जोड्दा करिब सात लाख पाँच हजार हुन आउँछ ।
अघिल्लो वर्षभन्दा बढी यात्रु बाहिरिने
ट्राफिक कार्यालयको तथ्यांकअनुसार गत वर्ष नौ लाख यात्रु दसैँमा घर फर्किएका थिए । तर, यो वर्ष अझै बढ्ने अनुमान छ । ट्राफिक कार्यालयले यसपटक १२ लाखभन्दा बढी यात्रुले उपत्यका छाड्ने अनुमान गरेको छ । विगतका वर्षहरूमा कोभिडको त्रास रहेको र अन्य कारणले उपत्यका बाहिरिनेको संख्या केही कम भए पनि यो वर्ष भने उपत्यका छाड्नेको संख्या धेरै हुने अनुमान गरिएको हो ।
दैनिक ३० सवारीसाधन दुर्घटना
दसैँ नजिकिएसँगै किनमेल तथा घर फर्कनेहरूका कारण उपत्यकामा सवारीसाधनको मोबिलिटी बढी छ । तर, यस्तो समयमा पनि दुर्घटनाका घटना निकै कम भएको ट्राफिक कार्यालयको दाबी छ । कार्यालय प्रमुख डिआइजी पोखरेलका अनुसार उपत्यकामा दैनिक ३० वटा सवारी दुर्घटना हुने गरेका छन् । तर, यी दुघर्टना सामान्य किसिमका रहेको उनको भनाइ छ । ‘दसैँका वेला दुर्घटनाको जोखिम हुने भएकाले उच्च सतर्कता अपनाएका छौँ,’ उनले भने ।
जीर्ण सडकका कारण यात्रा कष्टकर
दसैँ बिदा मिलेपछि कति वेला घर पुगौँ भन्ने धेरैलाई हतारो हुन्छ । तर, जीर्ण सडकका कारण यात्रुहरू समयमै गन्तव्यमा पुग्न सकिरहेका छैनन् । ठूला र सवारीसाधनको बढी चाप हुने राजमार्ग यतिवेला विस्तारका लागि भताभुंग पारिएको छ । जसका कारण दसैँको यात्रा निकै कष्टकर बनेको छ ।
पूर्व–पश्चिम राजमार्गमा धुलो र हिलोका कारण यात्रुलाई सास्ती भइरहेको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि ठेकेदार कम्पनीले दुवैतर्फको लेन भत्काउँदा सवारी ओहोरदोहोरमा कठिनाइ हुने गरेको छ । यस सडकखण्डको नारायणघाट–बुटवल खण्डमा सबैभन्दा बढी सास्ती यात्रुहरूले खेप्ने गरेका छन् । सडकको दुरवस्था हुँदा ट्राफिक जाम बढेको छ भने सवारीसाधन बिग्रने र गन्तव्यमा पुग्न घन्टौँ समय लाग्ने गरेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सडकको अवस्था निकै नै दर्दनाक रहेको बताए । ‘सरकारले हरेक वर्ष यात्रुलाई सास्ती दिँदै आइरहेको छ, सडकका कारण यात्रुहरू समयमै पुग्न पाएका छैनन्, व्यवसायीहरूका गाडी बिग्रने गरेका छन्,’ उनले भने, ‘दसैँका वेला ठूला सडकहरू मर्मत–सम्भार र व्यवस्थित नगर्दा घर फर्कनेहरूलाई निकै दुःख हुने गरेको छ ।’
यातायातविज्ञ आशिष गजुरेलले सडकको मर्मत–सम्भारमा सरकारको ध्यान नपुग्दा दसैँमा यात्रुहरूले घर फर्कंदा सास्ती खेप्नुपरेको बताए । ‘सडक मर्मतमा सरकारको ध्यान पुगेको छैन, निर्माणमा लगानी गर्न कस्सिने सरकारले नियमित मर्मत–सम्भारमा ध्यान दिँदैन ,’ उनले भने ।