परराष्ट्रमन्त्री एनपी साउद संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गरेपछि मात्रै अमेरिका जाने भएका छन्।
परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार कात्तिक ११ गते राति (१२ गते बिहान) गुटेरेस नेपाल आउँदै छन्। १२ गते उनीसँग भेट गरेपछि परराष्ट्रमन्त्री साउद अमेरिका भ्रमणमा जाने कार्यतालिका बनिरहेको बताइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा गुटेरेसको भ्रमण हुन लागेको हो। उनले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने पनि कार्यक्रम छ।
प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेरेसलाई न्युयोर्कमा भेटेर नेपाल भ्रमणका लागि अनुरोध गरेका थिए । नेपाल भ्रमणलाई महासचिवले प्राथमिकतामा राखेका छन् । नेपालको संक्रमणकालीन न्यायका विषयमा उनको भ्रमणमा छलफल गर्ने सरकारी तयारी छ।