गत असोज ७ गते महोत्तरीको गौशाला नगरपालिका– ११ भरतपुर टोलका शम्भु महतोको ६ लाख ३६ हजार रुपैयाँ खोसेर भाग्ने लुटेरालाई प्रहरीले पक्राउ गरेको छ।
शम्भु महतो र उनकी श्रीमती सुर्जकला महतो गौशाला– ५ स्थित एनआइसी एसिया बैंकबाट रकम निकाली फर्किरहेको अवस्थामा एक अपरिचित व्यक्ति रकम खोसी फरार भएका थिए। रकम लुटेर भागेको आरोपमा प्रहरीले बुधबार सर्लाहीको मलंगवा नगरपालिका– ५ भाडषर बस्ने २९ वर्षीय रमेश सहनीलाई पक्राउ गरेको हो।
सहनीलाई गौशाला नगरपालिका– ७ र सर्लाहीको हरिपूर्वा नगरपालिका– ७ को सिमानाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले बताए। सिसिटिभी फुटेज र घटनामा प्रयोग गरिएको मोटरसाइकलको नम्बर तथा अन्य प्रमाणहरूको आधारमा खोज्दै जाँदा उनलाई पक्राउ गर्न सकिएको उनले बताए।
वृद्धदम्पतीकी छोरी पुनितादेवी महतोले ओखलढुंगाबाट आमाको नामबाट आफ्नो कर्जाको रकम चुक्ता गरिदिन भनी उक्त रकम पठाएकी थिइन्। रकम निकाली घर फर्किने क्रममा सहनीले झुक्याएर उनीसँग पैसा खोसेर भागेका थिए।
इलाका प्रहरी कार्यालय गौशालाका इन्चार्ज प्रहरी निरीक्षक मनोजकुमार यादवका अनुसार आरोपीले उक्त रकमबाट भारतीय नम्बरको कार किनेको र सो कार हाल भारतमा रहेको बुझिएको छ। घटनामा थप व्यक्तिको संलग्नतालगायतका तथ्यहरू अनुसन्धानपछि खुल्ने उनको भनाइ छ।