गैरआवासीय नेपाली संघको निर्वाचन बुधबार राति १२ बजेदेखि सुरु भएको छ । काठमाडौंमा जारी ११ महाधिवेशनमा नेतृत्व चयन गर्न संघले यसपटकदेखि अनलाइनमार्फत मतदान दिन सकिने व्यवस्था गरेको छ । संघको निर्वाचन आयुक्त चिरञ्जीवी ढकालका अनुसार बुधबार राति १२ बजेदेखि बिहीबार मध्याह्न १२ बजेसम्म विदेशमा रहेका मतदाताले अनलाईमार्फत मतदान गर्न सक्नेछन् ।
काठमाडौंमा नै उपस्थित भएका मतदाताहरूले भने बिहीबार बिहान ११ बजेदेखि मतदान गर्ने कार्यक्रम छ । काठमाडौंमा भौतिक रूपमा नै उपस्थित भएका मतदाताले कार्यक्रमस्थल सोल्टीमोडस्थित सोल्टी होटेलमा गएर मतदान गर्न सक्नेछन् । तर, भौतिक रूपमा उपस्थित भएका मतदाताले पनि अनलाइन नै मतदान गर्नेछन् । भौतिक रूपमा उपस्थित हुनेले साँझ ६ बजेसम्म मतदान गर्न सक्नेछन् । मतदान सम्पन्न भएको एक घन्टाभित्रमा परिणाम सार्वजनिक गरिने आयुक्त ढकालले बताए ।
संघको यसपटकको निर्वाचनका लागि विभिन्न मुलुकबाट चार हजार दुई सय प्रतिनिधि छानिएका छन् । जसमध्ये २० प्रतिशत मात्रै काठमाडौंमा उपस्थित भएको संघको अनुमान छ । संघले उम्मेदवार र उम्मेदवारको प्रस्तावक र समर्थक अनिवार्य रूपमा काठमाडौंमा नै उपस्थित हुनुपर्ने व्यवस्था गरेको थियो । यसअघि भने भौतिक रूपमा नै उपस्थित भएर मतदान गर्नुपर्ने व्यवस्था थियो । तर, भौतिक रूपमा उपस्थित हुँदा निर्वाचन आर्थिक र नैतिक रूपमा पारदर्शी नभएपछि अनलाइन मतदान प्रणालीको व्यवस्था गरेको हो ।
गैरआवासीय नेपाली संघको निर्वाचनका लागि एक सय नौजना उम्मेदवारले उम्मेदवारी दर्ता गएका छन् । अध्यक्ष पदका लागि चारजना, उपाध्यक्षका लागि १८ जनाले उम्मेदवारी दिएका छन् । महासचिवका लागि दुईजना, सचिवका लागि १५ जना, कोषाध्यक्षका लागि दुईजनाले उम्मेदवारी दिएका छन् । पाँचजना भने निर्विरोध चयन भएका छन् । निर्वाचित कार्यसमितिले दुई वर्षसम्म काम गर्न पाउँनेछन् ।