नेपाललाई १४१ रनको लक्ष्य, मध्यक्रमका बसिलले सम्हाले युएईको इनिङ

टी-२० ट्र्यांगुलर सिरिज

बुधबार, १ कार्तिक, २०८०
डिजिटल संस्करण

टी-२० ट्र्यांगुलर सिरिजको पहिलो खेलमा युएईविरुद्ध नेपालले जितका लागि एक सय ४१ रनको लक्ष्य पाएको छ । 

मूलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४० रन बनायो । 

युएईका लागि बसिल अलअब्दुल हमिदले सर्वाधिक ५१ रन बनाए । ३८ बलको सामना गरेका उनले चार छक्का र एक चौका प्रहार गरे । यो उनको करिअरको पहिलो अर्धशतक हो । 

यस्तै, अली नासिरले ३० बलमा ३२, कप्तान मोहम्मद वसिमले १७ तथा आसिफ खानले १५ रनको योगदान दिए । 

एक समय ५२ रनमा चार विकेट गुमाइसकेको युएईलाई फाइटिङ टोटलसम्म पुर्याउन बसिल र अलीको महत्वपूर्ण भूमिका रह्यो । यी दुईले अर्धशतकीय साझेदारी गरेपछि युएईले ब्याटिङमा कमब्याक गरेको हो । 

नेपालको बलिङ स्पेलमा करण केसी सबैभन्दा सफल साबित भए । चार ओभर बलिङ गरेका उनले तीन विकेट लिए । यस्तै, गुल्सन झाले दुई विकेट र सोमपाल कामी तथा अविनाश बोहाेराले एक–एक विकेट लिए । 

नेपालका लागि सोमपालले पहिलो ओभरमै सफलता दिलाएका थिए । त्यसपछि भने उनी केही महँगो साबित भए । यस्तै, गुल्सनले युएईका सबैभन्दा डरलाग्दा विस्फोटक ब्याटर कप्तान मोहम्मद वसिमलाई सिकार बनाए । 

आजको म्याचबाट स्पिनर मौसम ढकालले टी–२० मा डेब्यु गरे । दुई ओभर बलिङ गरेका उनले कुनै विकेट भने लिएनन् । 

सुझावित समाचार