दसैँ मनाउन धेरैजसो मानिस जन्मथलो फर्किन थालिसकेका छन् । कतिपयलाई गाडीनजिक पुग्नेबित्तिकै रिँगटा लाग्छ । कतिपयलाई गाडी चढ्नेबित्तिकै टाउको पनि दुख्न थाल्छ । गाडीमा यात्रा गरेको केही समयमै धेरैलाई बान्ता हुन्छ । यात्रा गर्दा रिँगटा लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्नेजस्ता समस्याले यात्रा नरमाइलो हुन्छ । कतिपयलाई गाडीको गन्ध आउने, गाडी चढ्नेबित्तिकै बान्ता आएर समस्या हुन सक्छ । अझ घुमाउरो बाटो, उकालो र ओरालो बाटोमा असहज हुन्छ । गाडीमा यात्रा गर्ने क्रममा हाम्रो आँखा र कानको सन्तुलन नमिलेपछि यस्तो हुन्छ । वाकवाकी लाग्ने, बान्ता हुनेजस्ता समस्या हुन्छ । जसलाई ‘मोसन सिकनेस अर्थात् गाडी लाग्ने’ भनिन्छ । बान्ता आउने समस्या छ भने गाडी चढ्नुभन्दा अगाडि नै विभिन्न उपाय अपनाउन सकिन्छ ।
यस्ता छन् रोकथामका उपाय
- सबैलाई मोसन सिकनेस हुन्छ भन्ने हुँदैन । जसलाई गाडीमा यात्रा गर्दा मोसन सिकनेस हुन्छ, त्यस्तो व्यक्तिले औषधि सेवन गर्नुपर्छ । बान्ता हुनबाट रोक्न ‘एभोमिन’ नामक औषधि हुन्छ । १५–३० मिनेटअघि औषधि सेवन गर्नुपर्छ । यो औषधिले बान्ता हुनबाट रोक्न सक्छ ।
- कतिपयले बाटोमा खान पाइँदैन भनेर पेटभरि खाने गर्छन् । बिहान धेरै खानेकुरा खाएर गाडी चढ्नुहुँदैन । तर, खाली पेट पनि यात्रा गर्नुहुँदैन । कतिपयको गाडी चढ्नुअघि जुस, फ्रुटीजस्ता पेय पदार्थ पिउने बानी हुन्छ । जसले गर्दा बान्ता धेरै हुन्छ । खानै परेमा लाइट खानेकुरा खाने, जस्तै– रोटी–साग, तरकारी, केरा र स्याउ बिहान खाने, दिउँसो खाना खाँदा हुन्छ ।
- चिल्लो, पिरो मसला भएको खाना नखाने । मैदाजन्य खानेकुरा पनि सकेसम्म खानुहुँदैन । यस्तो खाना पच्न समय लाग्ने भएकाले समस्या देखिन सक्छ ।
- आफूलाई बान्ता आउँछ भने लामो यात्रामा अगाडिको सिटमा बस्नुपर्छ । पछाडिको सिटमा बस्यो भने झन् धेरै बान्ता हुन्छ । अगाडिको सिट बुक गर्नुपर्छ । सिटमा बसेपछि निहुरिएर तल हेर्नुहुँदैन । दायाँ–बायाँ हेर्नुहुँदैन । जहिल्यै पनि यात्रा अवधिसम्म अगाडि हेरेर बस्यो भने बान्ता हुँदैन ।
- कतिपयले झ्यालबाट बाहिर हेर्यो भने सजिलो हुन्छ भनेर बाहिर हेर्छन् । तर, बाहिर हेर्यो भने झन् मोसन सिकनेस हुन्छ ।
- दसैँको समय धेरैजसो होटेलले खाना एकैपटक पकाएका हुन्छन् । राजमार्गमा कतिपय होटेलले बासी भइसकेको खाना पनि बेच्छन् । बासी खानेकुरा खाँदा फुड पोइजन भएर पेट दुख्ने, बान्ता हुने भएर घर पुग्दासम्म बिरामी हुने पनि हुन्छ । यात्राका लागि घरमै हल्का खाना बनाएर बोक्नु राम्रो हुन्छ । रोटी, तरकारी बनाएर बोक्न सकिन्छ । घरकै खाना खायो भने फ्रेस पनि हुन्छ ।
- घुम्ती बाटोमा गाडी स्पिड भयो भने पनि बान्ता आउँछ । यस्तो वेला चालकलाई पनि स्पिड कम गर्न लगाउनुपर्छ । चालकले पनि ख्याल गर्नुपर्छ । घुम्तीमा स्पिड कम गर्नुपर्छ ।
- यात्राका दौरान गाडी रोकिएका वेला बाहिर निस्किएर फ्रेस हुनुपर्छ । कतिपयको भित्रै बस्ने बानी हुन्छ, जसले गर्दा झन् बान्ता हुन्छ ।
- कतिपयको गाडी रोक्नेबित्तिकै धूम्रपान गर्ने बानी हुन्छ । भित्र छिर्नेबित्तिकै अरूलाई बान्ता हुन सक्छ । कतिपयले लुकेर मदिरा पनि सेवन गर्ने गर्छन् । तर, यात्रा गर्दा कहिल्यै पनि मदिरा सेवन गर्नुहुँदैन ।
दीर्घरोगीले के गर्ने ?
- प्रेसर, सुगर, दम, थाइराइड, ग्यास्ट्रिकलगायतका बिरामीले विशेष ख्याल गर्नुपर्छ । आफ्नो औष्धि नियमित सेवन गर्नुपर्छ । कतिपयले यात्रा गर्दा औषधि बोक्न बिर्सिएका हुन्छन् । त्यसले पनि बान्ता हुने समस्या हुन सक्छ ।
- लामो बिदामा आफ्नो परिवारसँग घरमै बस्ने योजना हुन्छ । दुर्गम क्षेत्रमा जाने प्रेसर, सुगर, थाइराइडका बिरामीले १० दिनका लागि थप औषधि बोकेर जानुपर्छ । दुर्गम क्षेत्रमा त्यस्ता औषधि उपलब्ध नहुन सक्छन् ।
- टाउको दुखाइ कम गर्ने औषधि, ज्वरो आउने, बान्ता रोक्ने, जीवनजल पनि अनिवार्य झोलामा राख्नुपर्छ । घरमा औषधि नपाइन पनि सक्छ । गाह्रो हुँदा सेवन गर्न सकिन्छ ।