‘अपुतालीको धन’ प्राप्त गर्ने लोभमा ६९ वर्षीय वृद्धले गुमाए ९५ लाख

टर्कीको इस्तानबुल बैंकमा ९५ लाख अमेरिकी डलर राखेका व्यक्तिको मृत्यु भएको र नाता प्रमाणित गरेर उक्त रकम प्राप्त गर्न सकिने भन्दै एक गिरोहले बनाएको योजनामा ठगिए वृद्ध

सोमबार, २९ असोज, २०८०
डिजिटल संस्करण

‘अपुतालीको धन’ प्राप्त गर्ने चक्करमा लाग्दा काठमाडौंका ६९ वर्षीय तारा पुरीले ९५ लाख रुपैयाँ गुमाएका छन् । नेपाल सरकारको पूर्वकर्मचारीसमेत रहेका पुरी टर्कीको इस्तानबुल बैंकमा रहेको भनिएको ९५ लाख अमेरिकी डलर पाउने आशामा ठगिएका हुन् ।

ठगी घटना यसरी सुरु हुन्छ– पुरीलाई टर्कीको इस्तानबुलस्थित इस्तानबुल बैंकको नामबाट एउटा इमेल आयो । इमेलमा उल्लेख थियो, ‘इस्तानबुल बैंकमा एड्रिन पुरीको नाममा ९५ लाख अमेरिकी डलर छ । उनको केही महिनाअघि गएको भूकम्पमा मृत्यु भइसकेको छ । हकवाला कोही नभएको हुँदा तपाईंले नाता प्रमाणित गरेर लिन सक्नुहुन्छ ।’ इन्जिनियर पुरीको मनमा लोभ पलायो । मृतक पुरी नै भएको हुँदा नाता प्रमाणित गर्न सकिने आत्मविश्वास उनमा जाग्यो । उनले आवश्यक प्रक्रिया बुझ्न भन्दै तुरुन्तै बैंकलाई इमेल रिप्लाई गरे । बैंकले पुरीसँग नागरिकता, पासपोर्टदेखि आवश्यक सबै कागजात माग्यो । पुरीले सबै कागजात स्क्यान गरेर इमेल गरे । 

एसएसपी सोेमेन्द्रसिंह राठौर, प्रमुख, उपत्यका अपराध अनुसन्धान कार्यालय
मृतकको नाममा रहेको रकम उपलब्ध गराउने भन्दै एक पीडितबाट ९५ लाखभन्दा धेरै रकम ठगी भएको अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्न केही व्यक्ति पक्राउ परेका छन् । केही फरार छन् । उनीहरूले सोही तरिका अपनाएर विभिन्न व्यक्तिबाट आठ करोड ५७ लाख रुपैयाँभन्दा धेरै ठगी गरेको देखिन्छ ।

त्यसपछि आवश्यक कानुनी प्रक्रिया मिलाउन भन्दै उनलाई तुरुन्तै इस्तानबुल आउन अर्को इमेल आयो । तर, उनी तुरुन्तै इस्तानबुल जाने अवस्थामा थिएनन् । उनले आफ्नो परिस्थितिबारे इमेलमार्फत बैंकलाई जानकारी गराए । बैंकबाट पुनः अर्को इमेल आयो । इमेलमा लेखिएको थियो, ‘आउन नसक्ने भए कानुनी प्रक्रिया मिलाउन तपाईंले अधिवक्ता ‘हायर’ गर्नुपर्ने हुन्छ । यसका लागि तपाईंले शुल्क बुझाउनुपर्ने हुन्छ ।’ पुरी सहमत भए । रकम पठाउन बैंकले नेपाली बैंककै खाता नम्बर उपलब्ध गराएको थियो । पुरीले सोही खातामा रकम पठाउन थाले । बैंकले नयाँ–नयाँ  कानुनी अड्चन देखाउँदै गयो । त्यसका लागि थप शुल्क लाग्ने भन्दै पुरीसँग रकम माग्दै गयो । लोभिएका पुरी रकम चुकाउँदै गए । 

९५ लाख रुपैयाँ भुक्तानी गरिसकेपछि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट टेलिफोन आयो । तुरुन्तै कार्यालय आउन भनियो । उनी दौडिएर अपराध अनुसन्धान कार्यालय पुगे । जसको नाममा रहेको बैंक खातामा उनले रकम पठाउँदै आएका थिए, सोही व्यक्ति अनलाइन ठगीमा पक्राउ परेका रहेछन् । यो सुनेर पुरी छाँगाबाट खसेझैँ भए । आफू ठगिएको भेउ बल्ल थाहा पाए । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनामा संलग्न महावीर शाह, कमल चौधरी, पुरुषोत्तम कार्की र लक्ष्मण नेपालीलाई पक्राउ गरेको छ । कार्यालयका अनुसार उनीहरूले सोही तरिका अपनाएर विभिन्न व्यक्तिबाट आठ करोड ५७ लाख रुपैयाँभन्दा धेरै रकम ठगेको खुलेको छ । घटनाका ‘मास्टर माइन्ड’ पाकिस्तानी नागरिक आदिल हुन् । उनीसहित अन्य छजना फरार रहेको प्रहरीले जनाएको छ । 

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोेमेन्द्रसिंह राठौरले भने, ‘मृतकको नाममा रहेको रकम उपलब्ध गराउने भन्दै एक पीडितबाट ९५ लाखभन्दा धेरै रकम ठगी भएको अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्न केही व्यक्ति पक्राउ परेका छन् । केही फरार छन् । उनीहरूले सोही तरिका अपनाएर विभिन्न व्यक्तिबाट आठ करोड ५७ लाख रुपैयाँभन्दा धेरै ठगी गरेको देखिन्छ ।’

सुझावित समाचार