काभा भलिबलमा नेपालको दोस्रो हार

शनिबार, २७ असोज, २०८०
डिजिटल संस्करण

श्रीलंकामा चलिरहेको सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले दोस्रो हार व्यहोरेको छ । कोलम्बोमा शुक्रबार भएको खेलमा नेपाल साउदी अरेबियासँग ३–२ को सेटमा पराजित भयो । हारसँगै नेपालको फाइनल खेल्ने सम्भावना कमजोर बनेको छ ।

शनिबार हुने खेलमा नेपालले बलियो उज्वेकिस्तानलाई चार सेटभित्रै हराए फाइलन पुग्नेछ । हार वा पाँचौँ सेटसम्म खेल जाँदा नेपालको उपाधि जित्ने सम्भावना समाप्त हुनेछ । उज्वेकिस्तानविरुद्ध अप्रत्याशित जित निकालेमा नेपालले ऐतिहासिक सफलता प्राप्त गर्नेछ । नेपालले सेन्ट्रल एसियन भलिबलमा कांस्य पदक मात्रै जितेको छ । प्रतियोगितामा आयोजक श्रीलंका फाइनल पुगेको छ । 

साउदीसँग पाँचौँ सेटमा पराजित
कोलम्बोस्थित सुगाथादास इन्डोर रंगशालामा नेपालले अग्ला कदका साउदी अरेबियाका खेलाडीबीच पाँच सेट खेलेको थियो । खेलको पहिलो सेट २२–२५ ले गुमाएको नेपालले दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै खेल १–१ को बराबरीमा पुर्याएको थियो । नेपालले तेस्रो सेट २३–२५ ले गुमायो । चौथो सेट अनेपक्षित रूपमा निकै रोमाञ्चक बनेको थियो । नेपालले चौथो सेट २७–२५ ले जित्दै २–२ को बराबरी गर्न सफल भयो । पाँचौँ तथा निर्णायक सेट नेपालले १६–१४ ले गुमाएको हो । 

यसअघि नेपालले बंगलादेशलाई ३–१ को सेटमा तथा अफगानिस्तानलाई ३–२ को सेटमा पराजित गरेको थियो । श्रीलंकासँग सोझो सेटमा पराजित भयो । नेपालको चार खेलबाट ६ अंक छ । पहिलो जित निकालेको साउदी अरेबियाको चार खेलबाटै तीन अंक मात्रै छ । साउदी अरेबियाको यो पहिलो जित हो । यसअघि साउदी अरेबिया श्रीलंका र उज्वेकिस्तानसँग समान ३–० र बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, साउदी अरेबिया, उज्वेकिस्तान सहभागी छन् ।

See More On

सुझावित समाचार