अर्थमन्त्री डा. प्रकाशशरण महतले अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)सँग वित्तीय सुशासन र पारदर्शिता नेपाली माटो सुहाउँदो हुने गरी सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । कोषका एसिया प्रशान्त हेर्ने उपप्रबन्ध निर्देशक बो लीसँगको भेटमा उनले यस्तो प्रतिबद्धता गरेका हुन् ।
भेटमा विस्तारित कर्जा सुविधा (इसिएफ) लिँदा नेपालले राष्ट्र बैंक ऐन संशोधन, वित्तीय क्षेत्रमा सुधार, मौद्रिक नीतिमा सुधारलगायतका विषयमा छलफल भएको थियो । वित्तीय सुशासन, पारदर्शितालगायत कुराहरू नेपालको माटो सुहाउँदो किसिमबाट सुधार गर्न प्रतिबद्ध रहेको बताउँदै अर्थमन्त्री महतले नेपालका केही आवश्यकता बुझिदिन आइएमएफसँग आग्रह गरे ।
‘वित्तीय सुशासन, पारदर्शिताप्रति प्रतिबद्ध छौँ, तर सबै कुरा भनिएजस्तो हुँदैन, हाम्रा आफ्नै संरचना पनि छन्,’ छलफलमा महतले भने, ‘बुझाइमा समस्या छ, के काम गर्ने भन्ने कुरामा स्पष्ट छौँ ।’ जवाफमा उपनिर्देशक बो लीले भने, ‘सुधारको कुरा गर्नुहुन्छ भने हामी सकारात्मक छौँ, हामीले सुधार गर भन्ने नै हो ।’ छलफलपछि इसिएफको तेस्रो किस्ताका लागि कर्मचारी तहमा भएको सम्झौता (एसएलए) आइएमएफ बोर्डबाट पास गर्ने सहमति बनेको छ । छलफलमा अर्थसचिव कृष्णहरि पुष्कर, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायतको उपस्थिति थियो ।