चाडपर्वमा प्लास्टिकका फूल र माला बिक्रीमा रोक

बुधबार, २४ असोज, २०८०
डिजिटल संस्करण

चितवनको रत्ननगर नगरपालिकाले दसैँ, तिहार, छठजस्ता पर्वमा प्लास्टिकजन्य फूलमाला र गुच्छाको बिक्री–वितरणमा रोक लगाएको छ।

नगरपालिकाले एक सूचना जारी गर्दै तिहार र छठलगायत पर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको हो।

नगरप्रमुख प्रह्लाद सापकोटाले प्लास्टिकजन्य फूल तथा सामग्रीको प्रयोग गर्दा वातावरण प्रदूषण हुने भएकाले त्यसको प्रयोगमा रोक लगाइएको बताए। 

उनले नगरभित्र नै किसानले धेरै मात्रामा फूल लगाएकाले उक्त फूल पूजापाठका लागि राम्रो हुने भन्दै प्लास्टिकजन्य फूल प्रयोग नगर्न आग्रह गरे। प्लास्टिकजन्य फूल तथा माला कसैले प्रयोग गरेको वा बिक्री–वितरण गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने नगरपालिकाले जनाएको छ ।

दसैँमा चितवन प्रहरी चौबिसै घन्टा हाइअलर्टमा

नजिकिँदै गरेको दसैँ, तिहार र छठमा चितवन प्रहरी चौबिसै घन्टा ‘हाइअलर्ट’मा रहने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै चितवन प्रहरीले चाडपर्वमा भरपर्दो शान्तिसुरक्षा कायम राख्ने उद्देश्यले बसपार्कलगायत मानिसको भिडभाड हुने ठाउँमा हाइअलर्टमा रहने जनाएको हो।

चाडपर्वमा हुन सक्ने लुटपाट, डकैती, सवारी दुर्घटना र समाजमा हुन सक्ने चोरी, लुटपाट, मादक पदार्थ सेवन गरी होहल्ला, झै–झगडा, गुन्डागर्दीजस्ता आपराधिक गतिविधिहरूलाई दृष्टिगत गरी त्यसप्रकारका कुनै पनि घटना हुन नदिने तयारी प्रहरीको सुरक्षा योजनामा समावेश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। 

सुझावित समाचार