निर्माण कम्पनीले पुल निर्माण अलपत्र पारे पनि दैलेख महाबु गाउँपालिकाका स्थानीयहरू निराश भएका छन् । दैलेखको दुर्गम मानिएको महाबु गाउँपालिका ४ र ५ का बासिन्दाहरू पक्की पुलबाट सहज यात्रा होला भन्ने आशामा थिए । तर, पुल निर्माणमा ढिलाइ भएका कारण महाबु गाउँपालिकाको वडा नं ५ कांशीकाँध र वडा नं ४ कार्पी खोलाका बासिन्दाहरू बिरामी पर्दा स्वास्थ्य संस्थामा जान पनि नसक्ने अवस्थामा छन् ।
प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय दैलेखले ठेक्कामार्फत पक्की पुल निर्माणको जिम्मेवारी स्वर्गद्वारी निर्माण सेवालाई दिएको छ । जिम्मेवारी लिएको दुई वर्षसम्म पनि काम नभए पनि किसानहरूले उत्पादन गरेको तरकारीसमेत बिक्री हुन नसकेको महाबु गाउँपालिका वडा नं ४ का वडाध्यक्ष रामबहादुर शाहीले बताए । तीन करोड २५ लाख लागतमा निर्माण गर्नुपर्ने पक्की पुलको हालसम्म एउटा मात्र पिलर खडा गरिएको छ । पूर्वाधार विकास कार्यालयले समयमै काम सक्न निर्माण जिम्मा लिएका कुलबहादुर वलीलाई ६ पटक पत्र पठाइसकेको छ । अब अन्तिमपटक म्याद थपको तयारी गरिएको र अब पनि काम नगरे कालोसूचीमा राख्न सिफारिस गरिने पूर्वाधारका इन्जिनियर पारस डाँगीले बताए ।
द्वन्द्वकालदेखि सास्ती भोगेका जनताहरू पक्की पुल बनेपछि सहज यात्रा गर्ने आसमा थिए । तर, अहिले निराश भएको स्थानीय बासिन्दा एवं पत्रकार नवीन रिजालले गुनासो गरे । उनले भने, ‘महाबु क्षेत्रमा सडकको काम प्रभावकारी छैन, स्वास्थ्य भवन पनि उस्तै हालतमा छ, पक्की पुलहरू बन्न सकेका छैनन् ।’ निर्माण कम्पनीहरूले जनताको आवश्यकता महसुस नगरे जनता आन्दोलनमा उत्रने उनको भनाइ छ । दुर्गमा गाउँमा बिजुली पुर्याउने भन्दै लगिएका बत्तीका पोलहरू बाटोमा लथालिंग अवस्थामा छन् । निर्माण कम्पनीले भनेको समयमा काम नगरिदिएका कारण राज्यको करोडौँ विकासको रकम सदुपयोग हुन सकेको छैन ।