पहिलो दिन २५ हजारले गरे टिकट बुकिङ

मंगलबार, २३ असोज, २०८०
डिजिटल संस्करण

सार्वजनिक यातायातमा दसैँ बुकिङ खुलेको पहिलो दिन काठमाडौंको गोंगबु बसपार्कबाट झन्डै २५ हजार टिकट बिक्री भएको व्यवसायीले बताएका छन् । दसैँमा घर फर्कने यात्रुलाई लक्षित गर्दै यातायात व्यवसायीले सोमबारबाट अग्रिम टिकट बुकिङ खुला गरेका छन् ।

पहिलो दिन २४ हजार तीन सयभन्दा बढी टिकट बुकिङ भएको राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । सरकारसँग भएको पूर्वसहमतिअनुसार व्यवसायीहरूले देशभरकै सार्वजनिक यातायातका लागि अग्रिम टिकट बुकिङ खुला गरेका हुन् । काठमाडौंलगायतका देशभरका मुख्य सहरहरूमा रहेका काउन्टरबाट टिकट बुकिङ सुरु गरेको उनको भनाइ छ । 

गत शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच छलफलपछि सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको थियो । प्रचलित भाडादरमै अग्रिम टिकट बुकिङ खुला गरिएको छ । तर, सर्वसाधारणले सहज रूपमा टिकट पाउन नसकेको गुनासो गरेका छन् ।  

व्यवसाय, रोजगारी, अध्ययनलगायतका उद्देश्यसहित देशभरका लाखौँ सर्वसाधारण परिवारबाट छुट्टिएर संघीय राजधानी काठमाडौंलगायतका सहरमा बसोवास गर्दै आएका छन् । जब दसैँ, तिहार तथा छठजस्ता ठूला पर्व आउँछन्, त्यसपछि भने उनीहरू आफ्नै परिवारसँगै चाडपर्व मनाउन जान्छन् । फलस्वरूप यसवेला यात्रुको चाप हुने गर्छ । दसैँ मनाउनकै लागि घटस्थापनापछि काठमाडौं उपत्यकाबाट दैनिक लाखौँ सर्वसाधारण बाहिरिने गर्छन् । त्यसो गर्दा तत्काल गाडी पाउने सम्भावना कम हुन्छ । सोही विषयलाई लक्षित गर्दै अग्रिम टिकट बुकिङको व्यवस्था गर्ने परम्परा छ । 

सुझावित समाचार