एकदिवसीय क्रिकेट विश्वकप : न्युजिल्यान्डको लगातार दोस्रो जित

पहिलो खेलमा इंग्ल्यान्डलाई ९ विकेटले पराजित गरेको न्युजिल्यान्डले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ९९ रनले हरायो

मंगलबार, २३ असोज, २०८०
डिजिटल संस्करण

न्युजिल्यान्डले आइसिसी एकदिवसीय विश्वकपमा लगातार दोस्रो जित निकालेको छ । सोमबार हैदराबादमा भएको विश्वकपको छैटौँ खेलमा न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ९९ रनले हराएको हो । तीन सय २२ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४६.३ ओभरमा सबै विकेट गुमाउँदा मात्र दुई सय २३ रन बनाउन सक्यो । जितपछि न्युजिल्यान्ड दुई खेलबाट चार अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

नेदरल्यान्ड्स विनाअंक आठौँ स्थानमा छ । दोस्रो चरणका खेल सुरु हुँदा दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश र भारतको समान दुई अंक छ । पहिलो खेलमा नेदरल्यान्ड्ससँगै अस्ट्रेलिया, अफगानिस्तान, श्रीलंका र इंग्ल्यान्ड पराजित भएका थिए । 

न्युजिल्यान्डले पहिलो खेलमा इंग्ल्यान्डलाई ९ विकेटले हराएको थियो । इंल्यान्डले दिएको दुई सय ८३ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड एक विकेट गुमाउँदै ३६.२ ओभरमा विजयी भएको थियो । नेदरल्यान्ड्सको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेदरल्यान्ड्स पाकिस्तानसँग ८१ रनले हारेको थियो । दुई सय ८६ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स दुई सय ५ विकेटमा सीमित भएको हो ।

 चलेन नेदरल्यान्ड्सको ब्याटिङ 
नेदरल्यान्ड्सका एक मात्रै खेलाडीले अर्धशतक बनाउन सके । अन्य खेलाडीले ठूलो साझेदारी र स्कोर गर्न नसक्दा नेदरल्यान्ड्स लगातार हार बेहोर्न बाध्य भयो । तेस्रो नम्बर क्रिजमा आएका कोलिन एकरम्यानले सर्वाधिक ६९ रन बनाए । ७३ बलको सामना गरेका कोलिनले ५ चौका प्रहार गरेका थिए ।

कोलिनले तेजा निदामानुरासँग मिलेर सर्वाधिक ५० रनको साझेदारी गरे । यसैगरी, कप्तान स्कट इडवार्डसले २७ बलमा ३० र सेइब्रान्ड इन्गेल्ब्रेचले ३४ बलमा २९ रनको योगदान गरे । ओपनर विक्रमजित सिंह १२ र म्याक्स ओडोवले १६ रन मात्रै बनाए । २१ रन बनाउँदा नेदरल्यान्ड्सले पहिलो विकेट गुमाएको थियो । यसपछि एकरम्यानबाहेक अन्य खेलाडीले ठूलो स्कोर बनाउन सकेनन् । बास डी लिडले १८ र आर्यत डतले ११ रनको योगदान गरेका थिए । 

 साटनरको पाँच विकेट
बलिङतर्फ न्युजिल्यान्डका मिचल साटनरले सानदार प्रदर्शन गरेपछि नेदरल्यान्ड्सले ठूलो स्कोर बनाउन सकेन । ३१ वर्षीय खेलाडीले पूरा १० ओभर बलिङ गर्दै पाँच विकेट लिएर ५९ रन खर्चिएका थिए । उनको करिअरकै यो दोस्रो उत्कृष्ट बलिङ हो । यसअघि आयरल्यान्ड्सविरुद्ध सन् २०१७ मा पाँच विकेट नै लिएका थिए । यस्तै, म्याट हेनरीले तीन विकेट लिए । हेनरीले ८.३ ओभरमा ४० रन खर्चिएका थिए । यसबाहेक रचिनले १० ओभरमा एक विकेट लिए । 

 तीन खेलाडीको अर्धशतक 
टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले ३ खेलाडीको अर्धशतकप्रेरित निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै तीन सय २२ रन बनाएको थियो । ओपनर विल योङ, रचिन रविन्द्र र कप्तान टोम लाथमले अर्धशतक पूरा गरेका हुन् । ओपनर योङले ८० बलमा सात चौका र दुई छक्कासहित सर्वाधिक ७० रन बनाए । नेदरल्यान्ड्सको इनिङ्समा कप्तान टोमले ५३ रन बनाएका हुन् । टोमले ४६ बलमा ६ चौका र एक छक्का प्रहार गरेका थिए । 

अर्का खेलाडी रचिन रविन्द्रले ५१ बलमा ५१ रन हिर्काएका थिए । ओपनर डेभोन कनवेसँग योङले पहिलो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए । कनवे ३२ रनमा आउट भए । दोस्रो विकेटका लागि योङ र रविन्द्रबीच ७७ रनको साझेदारी भयो । टोम र मिचेल साटनरले ५३ रनको साझेदारी गरेका हुन् । यसअघि रविन्द्रले पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध शतक प्रहार गरेका थिए । मिचेल साटनरले अविजित ३६ र म्याट हेन्रीले अविजित १० रन बनाए । नेदरल्यान्ड्सका आर्यन दत्त, पाउल भान मिकिरेन र रोइलोफ भान डेर मेर्वेले समान २ विकेट लिएका थिए ।

 आज दुई खेल हुँदै 
प्रतियोगिताको छैटौँ दिन आज दुई खेल आयोजना हुँदै छन् । बिहान पौने ११ बजे हुने खेलमा बंगलादेश र साबिक विजेता इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । खेल धर्मशालामा हुने तालिका छ । बंगलादेशले पछिल्लो पाँच खेलमा दुई मात्रै जित निकाल्दा तीन खेलमा हार बेहोरेको छ । यता, इंग्ल्यान्डले चार खेलमा जित निकाल्दा एक खेलमा मात्र हार बेहोरेको छ । त्यसैले पनि खेलमा इंग्ल्यान्ड बलियो स्थितिमा छ । अर्काे खेलमा पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । हैदराबादमा हुने खेलमा पाकिस्तान उच्च मनोबलका साथ मैदान उत्रनेछ । एकदिवसीय विश्वकपमा भएको सात भेटमा पाकिस्तानले सबै खेल बाजी मारेको छ । पाकिस्तानले पछिल्लो पाँच खेलमा तीन जित र दुई हार नतिजा निकालेको छ । श्रीलंकाले तीन खेलमा हार र दुई खेल आफ्नो पक्षमा पारेको छ । 

सुझावित समाचार