एसियाली विकास बैंकका पूर्वअध्यक्ष हारुहिको कुरोदाले नेपालमा युवा जनशक्ति परिचालन गर्न सके आर्थिक विकासमा उल्लेखनीय योगदान पुग्न सक्ने बताएका छन्।
चीन, जापान, ताइवान, कोरियाजस्ता पूर्वी एसियाली मुलुकमा घट्दो जन्मदर र बुढ्यौलीका कारण निष्क्रिय जनशक्ति बढेको भन्दै उनले नेपालमा भने यस्तो समस्या नरहेको बताएका हुन्। इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर)सँगको अन्तर्संवादमा कुरोदाले मानव स्रोत नै नेपाली अर्थतन्त्रको सबैभन्दा ठूलो सम्भावनाको क्षेत्र रहेको उल्लेख गरे।
नेपालसँगै दक्षिण एवं दक्षिण पूर्वी एसियाली मुलुकमा घट्दो जन्मदरको समस्या नरहेको भन्दै उनले मानव मस्तिष्कको उपयोगमा लाग्न सुझाव दिए। नेपाली विद्यार्थी विदेश गइरहेकोतर्फ संकेत गर्दै कुरोदाले भने, ‘पुँजी, प्रविधि, शिक्षा र सीपको विकास गरी त्यो जनशक्तिलाई आफ्नो देशको हितमा उपयोग गर्न सकिन्छ। छिमेकी चीन र भारतजस्ता मुलुकले विदेशमा रहेका आफ्ना नागरिकलाई फर्काएर आर्थिक विकासमा फड्को मारेको उदाहरणलाई नेपालले पछ्याउन जरुरी छ।’
सो अवसरमा सहभागी विद्यार्थीले विश्व अर्थतन्त्र र त्यसबाट नेपाललाई पर्ने प्रभावका विषयमा राखेका जिज्ञासाको प्राध्यापक कुरोदाले जवाफ दिएका थिए।
कार्यक्रममा एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष डा. विन्दुनाथ लोहनीले मुलुकको आर्थिक समृद्धिका लागि राजनीतिक प्रतिबद्धतासँगै अग्रसरता आवश्यक भएको औँल्याए।