प्रहरीको चाडपर्वलक्षित सुरक्षा योजना आइतबार राति १२ बजेबाट सुरु भएको छ । सुरक्षा योजना दसैँ, तिहारसहित छठ पर्वसम्म कायम रहनेछ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार सुरक्षा योजना कार्यान्वयनमा उपत्यकाभित्र सात हजार ६ सय ३३ सुरक्षाकर्मी परिचालन भएका छन् । जसमध्ये एक हजार आठ सय ट्राफिक प्रहरी र पाँच हजार आठ सय ३३ अन्य सुरक्षाकर्मी रहनेछन् ।
सुरक्षाकर्मी काठमाडौं उपत्यकाभित्रका तीनवटै प्रहरी परिसर, काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमातहत सुरक्षामा खटिनेछन् । रानीपोखरी कार्यालयका अनुसार यसपटकको चाडपर्वमा उपत्यकाभित्रको सुरक्षा निगरानी ड्रोनबाट गरिनेछ । सिसिटिभीबाट पनि पर्वभर उपत्यकाको सुरक्षा निगरानी गरिनेछ । बैंक, वित्तीय संस्था तथा नगद र बहुमूल्य गरगहनाको कारोबार हुने स्थानमा सादा पोसाकमा सञ्चारका साधन र साना हतियारसहितका प्रहरी सुरक्षाकर्मी सुरक्षामा खटाइनेछ ।
रानीपोखरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले यसपटकको चाडपर्वमा ड्रोनबाट सुरक्षा निगरानी गरिने बताए । ‘चाडपर्वलक्षित सुरक्षा योजना आइतबार रातिबाट छठ पर्वसम्मका लागि लागू गरिएको छ । यसका लागि उपत्यकाभित्र सात हजार ६ सय ३३ सुुरक्षाकर्मी खटिनेछन् ।
यसपटक ड्रोनबाट सुरक्षा निगरानी गरिनेछ । बैंक, वित्तीय संस्था तथा नगद र बहुमूल्य गरगहनाको कारोबार हुने स्थानमा सादा पोसाकमा सुरक्षाकर्मी परिचालन हुनेछन्,’ उनले भने ।उपत्यकाभित्रका विशिष्ट स्थान, सपिङ मल, मार्ट र मुख्य–मुख्य नाकामा आधुनिक प्रविधिसहितको केनाइन कार्यालयबाट तालिमप्राप्त कुकुरबाट चेकजाँच हुनेछ । त्यसबाहेक प्रहरीको पैदल तथा मोबाइल गस्ती, कर्डन, सादा पोसाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ फोर्समार्फत पर्वभर सुरक्षा दिइनेछ ।