फुटपाथ सुधारमा दुई अर्ब खर्चंदै काठमाडौं महानगर

चालू आर्थिक वर्षभित्रै महानगरका सबै फुटपाथ सुधार भइसक्ने

सोमबार, २२ असोज, २०८०
डिजिटल संस्करण
फुटपाथ सुधारमा दुई अर्ब खर्चंदै काठमाडौं महानगर

अनामनगरस्थित फुटपाथ सुधार गरिँदै । तस्बिर : नयाँ पत्रिका

काठमाडौं महानगरपालिकाले फुटपाथलाई पदयात्रीमैत्री बनाउन दुई अर्ब खर्च गर्ने भएको छ । यसका लागि महानगरभित्रका सबैजसो सडकको लागत अनुमान तयार गरिसकेको जनाएको छ । फुटपाथ सुधार एवं निर्माणका लागि जारी सूचनाअनुसार छनोट भएका केही निर्माण व्यवसायीसँग सम्झौतासमेत भइसकेको छ ।

मापदण्ड र निर्माण पक्षको क्षमताजस्ता प्राविधिक पक्षबाट काम हुन नसक्ने देखिएपछि केही सडकको पुनः बोलपत्रको सूचना भएको छ । केही सार्वजनिक सूचना प्रकाशनको चरणमा रहेको महानगरले जनाएको छ । महानगरका अनुसार चालू आर्थिक वर्षभित्रै सबै फुटपाथ पदयात्रीमैत्री हुनेछन् । ‘पैदल यात्रा गर्नेहरूको सहजताका लागि आर्थिक वर्ष ०७९–८० बाट थालिएको कामलाई यस वर्ष तीव्र बनाइएको हो,’ सार्वजनिक निर्माण विभाग प्रमुख रामबहादुर थापाले भने, ‘चालू आर्थिक वर्षभित्र महानगरभित्रका सबै फुटपाथ पैदलयात्रीमैत्री बनाउने गरी काम भइरहेको छ ।’ उनका अनुसार पुतलीसडक, अनामनगरलगायत क्षेत्रमा यसअघि नै काम सम्पन्न भइसकेको छ । 

 कहाँ–कहाँ हुँदै छ फुटपाथ सुधार ? 
महानगरका अनुसार हाल लैनचौर, सोह्रखुट्टे हुँदै बालाजुसम्म सडकको दुवैतर्फका फुटपाथ सुधार भइरहेको छ । यसको लागत चार करोड ५५ लाख रुपैयाँ छ । लैनचौरबाट लाजिम्पाट, महाराजगन्ज हुँदै चक्रपथसम्मको खण्ड सुधारका लागि सम्झौता भइसकेको छ । यसको लागत करिब १० करोड छ । प्रदर्शनीमार्गमा पनि काम सुरु भइसकेको छ । यसको लागत तीन करोड ७८ लाख हो । त्रिपुरेश्वरदेखि सुन्धारा महाबौद्ध, रत्नपार्क, जमल हुँदै लैनचौरसम्मको फुटपाथ निर्माण पक्षसँग सम्झौता भइसकेको छ । यसको लागत १८ करोड हो ।

 काठमाडौं महानगर सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा भन्छन् - पैदलयात्रीको सहजताका लागि आर्थिक वर्ष ०७९/८० बाट फुटपाथ सुधार थालिएको हो । चालू आर्थिक वर्षभित्र महानगरभित्रका सबै फुटपाथ पैदलयात्रीमैत्री बनाउने गरी काम भइरहेको छ । पुतलीसडक, अनामनगरलगायत क्षेत्रका फुटपाथ बनिसकेका पनि छन् ।

नयाँ बजारखण्डमा पर्ने जग्गा एकीकरण आयोजना क्षेत्रभित्र पनि करिब ११ करोड लागतमा काम हुँदै छ । बालुवाटार सडकखण्डमा फुटपाथ निर्माण गर्न सम्झौता भइसकेको छ । यसको लागत ६ करोड ३५ लाख हो । तिनकुनेदेखि सिनामंगल, त्रिभुवन विमानस्थल प्रवेशद्वार, सञ्चारग्राम, तिलगंगा हुँदै गौशालासम्मका लागि सम्झौता भइसकेको छ । यसको लागत ६ करोड ६९ लाख हो । नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्मको मार्गका लागि तीन करोड २३ लाख लागतमा काम हुनेछ । थापाथलीदेखि टेकु हुँदै कालिमाटीसम्मको सडकखण्डको लागत ६ करोड हो । बागबजारदेखि चारखाल, डिल्लीबजार पीपलबोट, मैतीदेवी चोक, सेतो पुल, पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामंगल सडक खण्डका लागि १० करोड लागत छुट्याइएको छ ।

विशालनगरको भित्री सडकमा एक करोड ३५ लाख लागतमा काम हुँदै छ । महाङ्काल ओरालोदेखि मिलन चोकसम्मका लागि ८० लाख छुट्याइएको छ । यो खण्डको कामका लागि सम्झौता चरणमा छ । भगवान् पाउदेखि जुडोलमार्ग जोड्ने फुटपाथका लागि एक करोड लागत अनुमान गरिएको छ । यसको बोलपत्र आह्वान भइसकेको छ । सूचनामा गएको अर्को योजना बालाजु चोकदेखि जनमैत्री अस्पताल, बालाजु उद्यान हुँदै वनस्थलीतर्फको सडकखण्ड हो । यसको लागत तीन करोड छ । जडिबुटी चोकदेखि पुरानो सिनामंगल पुलसम्मको सडकखण्डमा ११ करोड रुपैयाँ लागतमा पैदलमार्ग निर्माण हुनेछ । माइतीघरदेखि नयाँ बानेश्वर हुँदै तिनकुनेसम्म १८ करोड रुपैयाँ लागतमा पैदलमार्ग र साइकल लेन निर्माण हुनेछ । बालमन्दिरदेखि नक्साल, नारायण चौर, हात्तीसार, कमलपोखरी हुँदै डिल्लीबजार क्षेत्रका लागि ६ करोड लागत अनुमान गरिएको छ ।

यस्तै, धोबी खोला कोरिडोरको कपन सिमानादेखि बागमती दोभानसम्मको खण्डका लागि ११ करोड लागत हुनेछ । डल्लु आवासक्षेत्रमा ७७ लाख रुपैयाँमा उपभोक्ता समितिबाट काम भइरहेको छ । कालिमाटीदेखि सोल्टी मोड हुँदै कलंकीसम्म, गौशालादेखि चाबहिलसम्म, गौशालादेखि रातोपुलसम्मको सडकखण्डलाई एउटै प्याकेजमा राखिएको छ । यसका लागि १० करोड लागत अनुमान गरिएको छ । यसका लागि पहिलोपत्र प्रकाशन गरिएको बोलपत्रबाट चाहिएको निर्माण पक्ष प्राप्त नभएपछि पुनः खरिद प्रक्रियामा लगिएको छ । 

 विद्युत् प्राधिकरणले राखेको आउटडोर क्याबिनेट बाधक 
महानगरका अनुसार सुन्दर महानगर निर्माणअन्तर्गत फुटपाथ सुधार गर्न नेपाल विद्युत् प्राधिकरणले राखेको आउटडोर क्याबिनेट बाधक बनेको छ । हाल प्राधिकरणले उपत्यकाको विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत गरिरहेको छ । तार भूमिगत गर्ने क्रममा कतिपय ठाउँमा फुटपाथमा आवतजावत गर्नसमेत नमिल्ने गरी आउटडोर क्याबिनेट जडान गरेको छ । ‘यी क्याबिनेट फुटपाथ सुधारमा समस्या बनिरहेका छन् । त्यस्ता क्याबिनेट सिफ्ट गर्न वा आवतजावत गर्न मिल्ने गरी ‘हाइड’ गर्न भनिरहेका छौँ,’ विभाग प्रमुख थापाले भने । फुटपाथ सुधारअन्तर्गत रंगिन ब्लकहरू छापिने, कलर गरिने, पेन्टिङ गर्ने, बत्ती जडान गर्नेलगायतका काम हुनेछन् । महानगरले फुटपाथ सुधारका लागि दुई अर्ब १५ करोड रुपैयाँ लगानी गरेर निर्माण, मर्मत तथा सुधारको काम गरिरहेको छ । 

सुझावित समाचार