कास्की जिल्ला अदालतले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष कुमार रम्तेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
शुक्रबार अदालतले रम्तेलसँग बयान लिएको थियो। आइतबार भएको थुनछेक बहसपछि न्यायाधीश केशवप्रसाद बाँस्तोलाको एकल इजलासले रम्तेललाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो। आइतबार अदालतभित्र बहस चलिरहँदा बाहिर बचतकर्ताको ठूलो भिड लागेको थियो।
रम्तेलसँगै अन्य सञ्चालकहरूले बचतकर्ताको रकम हिनामिना गरी भएको ठगी प्रकरणको अनुसन्धानमा १९ जनाको संलग्नता देखिएपछि कास्की प्रहरीले १६ असोजमा जिल्ला सरकार॥वकिलको कार्यालय कास्कीमा प्रतिवेदन पेस गरेको थियो। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले १८ असोजमा जिल्ला अदालत कास्कीमा सहकारी ऐन ०७४ अन्तर्गत उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको थियो।
सहकारीमा भएको ठगीका सम्बन्धमा पोखरा महानगरपालिकाबाट आवश्यक कारबाहीको लागि ३ साउनमा पत्र प्राप्त भएपछि आवश्यक अध्ययन गरी कास्की प्रहरीले २२ साउनमा मुद्दा दर्ता गरेको थियो।
सहकारीबाट ठगिएकाहरूबाट कास्की प्रहरीले गरेको उजुरी मागेपछि एक हजार ३६ बचतकर्ताको जाहेरी परेको थियो भने जाहेरीमा ठगिएको रकम एक अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ पुगेको थियो।
प्रहरीले ३२ साउनमा एक सूचना जारी गर्दै १५ भदौसम्मको समय दिएर बचतकर्ताहरूसँग उजुरी माग गरेको थियो। ठगी प्रकरण अध्ययनका लागि पोखरा महानगरपालिकाले १० भदौमा विज्ञसहितको टोली गठनसमेत गरेको थियो।
त्यसपछि प्रहरीले २४ भदौमा र २ असोजमा गरी सहकारी ठगी प्रकरणमा जोडिएका १९ जना प्रतिवादीहरूविरुद्ध अदालतको अनुमतिमा पक्राउ पुर्जी जारी गरेकोमा २६ भदौमा कोषाध्यक्ष रम्तेल पक्राउ परेका थिए। अन्य १८ जना भने फरार रहेका छन्।
अदालतमा सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई र उनका दाइ पूर्वअध्यक्ष भूपेन्द्र राईसँगै वर्तमान अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा, वर्तमान सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल र सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराई, पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ (महेन्द्र भोटे), भवीश्वर अर्याल र आइश्मा गुरुङ, लेखा समितिका हालका संयोजक सागर के.सी. सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धरसँगै कर्जा अधिकृत बुद्धि गुरुङविरुद्ध मुद्दा दर्ता भएको छ।
कास्की जिल्लाका न्यायाधिवक्ता गोपाल ढकालका अनुसार मुद्दा दर्ता गरिएका १९ जना प्रतिवादीहरूबाट एक अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ १७ पैसा बिगो दाबी गरिएको छ।
उनीहरूलाई सहकारी ऐन ०७४ को दफा १२४ अनुसार ८ देखि १० वर्ष कैद सजाए माग गरिएको छ। ऐनको दफा १२४ को उपदफा १ को (घ) को (६) अनुसार सो कैद सजाय माग गरिएको ढकालले जानकारी दिए। १ को (घ) को (६) मा एक अर्ब रुपैयाँभन्दा बढी जतिसुकै रुपैयाँ बिगो भए पनि ८ देखि १० वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ।
सहकारीमा साउन ०७९ देखि नै समस्या देखापरेको थियो। त्यस समयदेखिनै बचतकर्ताहरूले आफ्नो बचत फिर्ता पाउन सकेका थिएन। त्यसपछि सहकारीका सञ्चालकहरूसमेत सम्पर्कमा नआएपछि कार्यालयमा बचतकर्ताको दैनिकजसो भिडभाड लाग्ने गरेकाे छ।
आफ्नो रकम फिर्ता नपाएपछि बचतकर्ताहरूले सूर्यदर्शन बचतपीडित संघर्ष समिति गठन गरेका छन्। समितिको संयोजकमा किरण श्रेष्ठ छन्। श्रेष्ठका अनुसार सहकारीमा कुल बचत गर्ने बचतकर्तामध्ये एकजनाको घटीमा ६३१ रुपैयाँ र बढीमा पाँच करोड ७५ लाखसम्म बचत छ।
एक करोडमाथि बचत गर्नेहरूको संख्या ३० जनाको हाराहारीमा रहेको श्रेष्ठले जानकारी दिए। आफूहरूले दुःख गरी गरेको बचत फिर्ता नपाउँदा दैनिक जीवनयापनमा समस्या परेको उनले बताए।