सचेतना अभियानपछि २२ प्रतिशतले घट्यो सवारी दुर्घटना

आइतबार, २१ असोज, २०८०
डिजिटल संस्करण

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानरपालिकाले सञ्चालन गरेको सचेतना कार्यक्रका कारण उपत्यकामा २२ प्रतिशतले दुर्घटना घटेको छ । १४ असोजदेखि सुरु गरिएको सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह कार्यक्रमको प्रभावका विषयमा जानकारी गराउँदै तथ्यांकसहित यस्तो दाबी गरिएको हो । 

कार्यालयका अनुसार सडक अनुशासन उल्लंघन गर्ने चालकलाई कारबाही गर्दा गत एक वर्ष एक अर्ब ८८ लाख रुपैयाँ जरिवाना संकलन भएको छ । अनुशासन उल्लंघन गर्ने, तर कारबाहीमा नपर्नेहरूको संख्या बराबरी छ । सडक दुर्घटनामा दैनिक सातजनासम्मले ज्यान गुमाइरहेका छन् । १५ जनासम्म गम्भीर घाइते हुन्छन् । यो तथ्यांकले मानवीय क्षति कम गराउन अझै धेरै प्रयत्नको खाँचो रहेको कार्यालयको भनाइ छ । 

सप्ताहको अन्तिम दिन शुक्रबार राष्ट्रिय सभागृहमा आयोजना गरिएको समापन कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले सडक सुरक्षाका लागि प्रविधि जडान (सिसिटिभी)का लागि नेपाल प्रहरीसँग र रातमा सडकलाई उज्यालो बनाउन नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरेर तीन महिनाभित्र नतिजा देखिने गरी काम थालिएको जानकारी दिइन् । ‘सडक तथा सवारी आवागमन व्यवस्थापन बहुपक्षीय क्षेत्र हो । त्यसैले अपेक्षित उपलब्धिका लागि साझेदार सबैले समान रूपमा दायित्व निर्वाह गर्नुपर्छ ।’

त्यसक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले, सवारीसाधनका उत्पादक, लगानीकर्ता, व्यवस्थापन गर्ने कार्यालय, प्रहरी, लगानीकर्ता, चालक, सहचालक, कर्मचारी, निर्माण व्यवसायीलगायत दर्जनभन्दा धेरै संघ–संस्थाको दायित्वबाट सडक सुरक्षा कायम गराउन सकिने बताए । यसमा यात्रुको आचरण उत्तिकै जिम्मेवार छ । ‘धेरै व्यक्तिबाट प्रणाली चलाउनुपर्दा दोष लगाउने ठाउँ भेटिन्छन् । यसमा दोष देखाएर होइन, जिम्मेवारी लिएर काम गर्नुपर्छ,’ उनले भने ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले १४ वटा नाकाबाट काठमाडौं महानगरपालिकामा सवारीसाधन भित्रिने गरेकाले कतिपय यातायात व्यवसायीले नाकाकै छेउमा बसपार्कको माग गरिरहेको बताए । उपत्यका प्रहरी कार्यालयका प्रमुख, अतिरिक्त प्रहरी महानिरीक्षक दीपक थापाले सात दिनमा औसतमा दुई सय ३८ वटा सवारी दुर्घटना हुने गरेको तथ्यांक प्रस्तुत गर्दै यसलाई कम गराउन संयुक्त प्रयास चाहिएको बताए । 

सुझावित समाचार