एमाले सुदूरपश्चिम अध्यक्षमा तीनजनाको दाबी

आइतबार, २१ असोज, २०८०
डिजिटल संस्करण

एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षका लागि तीनजना दाबेदार देखिएका छन् । अछामका कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र कञ्चनपुरका वचनबहादुर सिंहले अध्यक्षमा दाबी गरेका छन् । प्रदेशमा नयाँ नेतृत्व चयनका लागि एमाले प्रदेश कमिटीको प्रथम अधिवेशन आइतबारबाट सुरु हुँदै छ ।

नेतृत्वका आकांक्षी तीनैजनाले ‘लबिङ’ तीव्र पार्नुका साथै टिम निर्माणको गृहकार्य गरिरहेका छन् । शिक्षण पेसा छाडेर ०४७ देखि एमालेको पूर्णकालीन राजनीतिमा सक्रिय भएका जैसी ०५० मा लगातार दुई कार्यकाल जिल्लासचिव र ०५४ सालमा जिविस अछामको सभापति भएका थिए । पार्टीको गाउँ कमिटी हुँदै जिल्ला कमिटी उपसचिव र दुईपटक सचिव भएको अनुभव उनीसँग छ । ‘पार्टीले बोकेका एजेन्डालाई स्थापित गर्न र पार्टीलाई प्रदेशमा बलियो बनाउन मेरो उम्मेदवारी हो,’ उनले भने, ‘पार्टी नेतृत्वले पनि मलाई साथ दिने आशा छ ।’

०४४ मै अनेरास्ववियुको राजनीति गरेका तिमिल्सिना अहिले पार्टीको प्रदेश कमिटी उपाध्यक्ष हुन् । उनले ०४७ मा एमाले जिल्ला कमिटी सदस्य, ०६६ मा एमालेको जिल्ला अध्यक्ष, तत्कालीन अञ्चल कमिटी सदस्य भएर काम गरेका थिए । बहालवाला उपाध्यक्ष भएकाले नेतृत्वको स्वाभाविक दाबेदार भएको उनको तर्क छ । ०८४ मा तीनवटै तहका निर्वाचनमा सुदूरपश्चिममा पार्टीलाई एक नम्बर बनाउने आफ्नो लक्ष्य रहेको उनले बताए ।

सिंहले कञ्चनपुरमा पत्रकार सम्मेलन गरेरै उम्मेदवारी घोषणा गरिसकेका छन् । एमालेको भ्रातृसंगठन युवा संघको केन्द्रीय अध्यक्ष भइसकेका सिंह अहिले पार्टीको प्रदेश सचिवालय सदस्य हुन् । युवाको प्रतिनिधित्व गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन आफूले नेतृत्वमा दाबी गरेको उनको भनाइ छ । 

प्रदेशको नेतृत्वमा केन्द्रीय नेताहरूको दाबी नरहेकाले सहमतिमै नेतृत्व चयनको प्रयास भइरहेको बताइएको छ । एमाले केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माले सुदूरपश्चिममा एकताको सन्देश दिने गरी सहमतिमा नेतृत्व चयनको प्रयास भइरहेको बताए । ‘समझदारीमै नेतृत्व चयनको प्रयासमा र्छौँ, सहमति नभए स्वच्छ प्रतिस्पर्धा हुन्छ,’ उनले भने । 

सुदूरपश्चिममा रहेका एमाले केन्द्रीय नेताहरूबीच सहमतिका आधारमा नेतृत्व चयन गरेर जानेबारे शुक्रबार छलफलसमेत भएको थियो । निर्वाचन हुने अवस्था आए जैसी र तिमिल्सिनाबीच प्रतिस्पर्धा हुने एमालेका एक नेताले बताए । उनका अनुसार त्यस्तो अवस्थामा अध्यक्षका अर्का उम्मेदवार सिंह पदाधिकारीमा समेटिने सम्भावना छ । केन्द्रका प्रभावशाली नेता उम्मेदवार नभएकाले केन्द्रीय नेतृत्वको चासो देखिने गरी प्रकट भइनसके पनि यहाँका केन्द्रीय नेताहरू आफूनिकट उम्मेदवारको पक्षमा लागिसकेका छन् । स्थायी कमिटी सदस्य कर्ण थापा जैसीकोे पक्षमा खुलेर लागेका छन् । पोलिटब्युरो सदस्य निरुदेवी पाल, नरबहादुर धामीलगायत नेताहरू उनको पक्षमा रहेको बताइएको छ । 

तिमिल्सिनालाई पोलिटब्युरो सदस्य गणेश ठगुन्ना, केन्द्रीय सदस्य झपट रावललगायतको समर्थन छ । खुलेर नदेखिए पनि तिमिल्सिनालाई महासचिव शंकर पोखरेलको समर्थन रहेको एमाले स्रोतले जनाएको छ । भीम रावलले पनि उनलाई समर्थन गर्ने बताइएको छ । केन्द्रीय सचिव भट्ट भने तटस्थ देखिएका छन् । पार्टी अध्यक्षको संकेत नपाइसकेकाले उनी अहिले तटस्थ रहेको एमालेका एक नेताले बताए । ‘सुदूरपश्चिमबाट एकताको सन्देश दिन चाहेकाले पनि केन्द्रीय चासो प्रटक भइसकेको छैन, तर प्रदेशका नेताहरू भित्रभित्रै चुनावी जोडघटाउमा लागिसक्नुभएको छ,’ एमालेका एक नेताले भने, ‘अहिले नेताहरूले सहमतिको प्रयास भइरहेको भने पनि चुनाव हुने सम्भावना बढी छ ।’

ओलीले आज अधिवेशन उद्घाटन गर्ने
एमाले अध्यक्ष केपी ओलीले आइतबार धनगढीस्थित सौराइ ब्यांक्वेटमा अधिवेशनको उद्घाटन गर्नेछन् । एमाले प्रदेश कमिटीले पत्रकार सम्मेलन गरेर अधिवेशनको तयारी पूरा भएको र बिहान ११ बजे अधिवेशन उद्घाटनको समय तय गरिएको जानकारी दिएको छ । उद्घाटन समारोहमा महासचिव शंकर पोखरेल, सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख कासीनाथ अधिकारी, स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्ण थापालगायत केन्द्रीय नेताहरू सहभागी हुने एमाले प्रदेश अध्यक्ष दामोदर भण्डारीले बताए । सचिव भट्टको यो गृह प्रदेश हो ।

अधिवेशनको उद्घाटनमा एमाले सुदूरपश्चिम प्रदेशका सबै पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, लेखा, केन्द्रीय निर्वाचनलगायत आयोगका सदस्य, सल्लाहकार परिषद्का सदस्यलाई आमन्त्रण गरेको छ । तर लामो समयदेखि पार्टीमा जिम्मेवारीविहीन रहेका नेता भीम रावललाई भने गृहप्रदेशकै अधिवेशनको उद्घाटनमा आमन्त्रण गरिएको छैन । अहिले गृहजिल्ला अछाममा रहेका रावललाई पार्टीले आमन्त्रण नगरेकाले उनी उद्घाटन समारोहमा सहभागी नहुने उनको सचिवालयले जनाएको छ । 

अधिवेशनको तयारीबारे जानकारी दिन शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले रावल राष्ट्रिय र केन्द्रीय नेता भएकाले आमन्त्रण नगरिएको बताए । एमालेको चितवन महाधिवेशनपछि पार्टी राजनीतिबाट किनारा लगाइएका रावल हाल कुनै जिम्मेवारीमा छैनन् । ‘पार्टीमा किनारा लगाउने शृंखलाअन्तर्गत नै आफ्नै प्रदेशमा हुन लागेको अधिवेशन उद्घाटनमा उहाँलाई निषेध गरिएको हो,’ रावल निकट एक नेताले भने ।

विवादबीच प्रतिनिधि छनोट
एमाले प्रदेश कमिटीका अनुसार अधिवेशनका लागि ६ सय ७५ जना प्रतिनिधि छनोट गरिएको छ । प्रतिनिधि छनोटमा व्यापक विवाद देखिएको छ । केन्द्रीय सचिवसमेत रहेका कर्णाली प्रदेश इन्चार्ज भट्टको गृहनगर गोदावरीमै प्रतिनिधि चयनमा तीव्र विवाद देखिएको छ । विधि र पद्धतिविपरीत प्रतिनिधि छनोट गर्न लागिएको भन्दै एक पक्ष प्रतिनिधि चयन प्रक्रियामा सहभागी भएन । जिल्ला कार्यसमिति सदस्य आनन्द भट्ट, प्रदेशका पूर्वमन्त्री कृष्णराज सुवेदीलगायत नेताहरूले शुक्रबार पत्रकार सम्मेलन गरेरै गोदावरीमा अवैधानिक रूपमा प्रतिनिधि छनोट गरिएको आरोप लगाएका छन् । सुदूरपश्चिमका अन्य पालिकाहरूमा पनि प्रतिनिधि छनोटका विवाद सार्वजनिक भएका छन् । धनगढी उपमहानगरपालिकामा भिर्गोलमै नबस्नेलाई पहुँचका आधारमा प्रतिनिधि छनोट गरिएको भन्दै एमाले कार्यकर्ताले धनगढीस्थित एमालेको जिल्ला र प्रदेश पार्टी कार्यालयमा तालाबन्दीसमेत गरेका थिए ।

See More On

सुझावित समाचार