कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिकामा रहेको व्यस्त साँघुरो बरगाछी चोकमा जबर्जस्ती स्मारक र सालिकहरू राख्दा बारम्बार सवारी दुर्घटना हुँदै आएको छ।
बरगाछी चोकमा गत वर्ष नेपाली कांग्रेसले राखेको कृष्णप्रसाद कोइरालाको सालिकमा मालवाहक कन्टेनर ठोक्किँदा चालक गम्भीर घाइते भएका छन्। उनको प्रहरीले सनाखत गरिरहेको जनाएको छ।
मोरङ प्रहरीका अनुसार बिहीबार साँझ ९ बजेतिर पश्चिम इटहरीतिरबाट आएको ना.३ख ४५७९ नम्बरको ट्रकले ठक्कर दिँदा चोकको बीचमा रहेको कोइरालाको सालिक भत्किएको छ । ट्रक पनि सडकमै पल्टिएर क्षतिग्रस्त भएको छ।
दुर्घटनामा घाइते चालकको बरगाछीमै रहेको लाइफगार्ड अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको मोरङ प्रहरीले जनाएको छ। पहिले ऐतिहासिक वरको गाछी रहेको उक्त चोकमा व्यापारिक सडक निर्माण गर्ने क्रममा काटिएको थियो। त्यसपछि उक्त स्थानमा लायन्स क्लबले सिमेन्टी गाछीको स्मारक बनाएको थियो।
उक्त स्मारक पनि राति मालवाहक सवारीसाधनले ठक्कर दिँदा भत्किएको थियो। त्यसपछि उक्त स्थानमा नेपाली कांग्रेस नगर समितिले कृष्णप्रसाद कोइरालाको सालिक स्थापना गरेको थियो।
बरगाछीजस्तो व्यस्त साँघुरो चोकमा सिमेन्टी गाछी र स्मारकहरू बनाउन उचित नहुने भन्दै स्थानीयले विरोध गर्दै आएका छन्। बरगाछी चोकमा सवारी दुर्घटना नियन्त्रण र सवारी आवागमन सहज बनाउन ट्राफिक प्रहरी बिट वा ट्राफिक लाइट स्थापना गर्नुपर्ने माग विराटनगरवासीको छ।