प्रधानमन्त्रीको भ्रमणका सहमति कार्यान्वयनमा चीन प्रतिबद्ध

शुक्रबार, १९ असोज, २०८०
डिजिटल संस्करण

नेपालको आर्थिक–सामाजिक विकासमा निरन्तर सहयोग गर्ने चिनियाँ विदेशमन्त्रीको प्रतिबद्धता

चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ६ देखि १३ असोजसम्म भएको चीन भ्रमणमा भएका सम्झौता कार्यान्वयनका लागि चीन प्रतिबद्ध रहेको बताएका छन् । तिब्बतको निङचीमा बिहीबार राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालसँगको भेटवार्तामा विदेशमन्त्री वाङले नेपालको आर्थिक–सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । 

‘प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण चीनका लागि पनि महत्वपूर्ण छ । भ्रमणमा भएका सम्झौताको कार्यान्वयनमा चीन सरकार प्रतिबद्ध छ,’ चिनियाँ विदेशमन्त्री वाङलाई उद्धृत गर्दै उपाध्यक्ष अर्यालले भनिन् । अर्यालले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा भएका समझदारीपत्रमा आधारित रहेर चिनियाँ विदेशमन्त्री वाङसँग छलफल गरेको जानकारी दिइन् । उपाध्यक्ष अर्यालले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएकी छिन् । 

नेपाल २०२६ मा अल्पविकसित मुलुकबाट विकासशील मुलुकका रूपमा स्तरोन्नति हुन लागेको र त्यसपछि पनि नेपालले विगतमा प्राप्त गर्दै आएको सहयोग चीनबाट निरन्तर अपेक्षा गरेको उपाध्यक्ष अर्यालको भनाइ थियो । दुईपक्षीय व्यापार र लगानी तीव्र रूपमा अघि बढ्नुपर्नेमा उनको भनाइ थियो । बिआरआई कार्यान्वयन योजनामा नेपाल र चीनबीच चाँडै नै हस्ताक्षर हुने सहमति भएको छ । अर्यालले बिआरआईमा नेपाल प्रतिबद्ध रहेको जवाफ दिएकी छिन् । 

तिब्बतको विशेष महत्व छ : उपाध्यक्ष अर्याल
चीनले तिब्बतको निङचीमा बिहीबार आयोजना गरेको तेस्रो चाइना सिजाङ (तिब्बत) ट्रान्स हिमालय फोरम फर इन्टरनेसनल कोअप्रेसनमा नेपालबाट राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्याल सहभागी भएकी छिन् । उनी नेतृत्वको प्रतिनिधिमण्डल नै कार्यक्रममा सहभागी छ । तिब्बतको राजधानी ल्हासाबाट चार सय किलोमिटर पूर्व र भारतको अरुणाचल प्रदेशसँग नजिक कार्यक्रम आयोजना भएको छ । 

फोरमको उद्घाटन समारोहलाई सम्बोधन गर्ने उपाध्यक्ष अर्यालले ऐतिहासिक रूपमा नेपाल–चीन सम्बन्धमा तिब्बत स्वायत्त क्षेत्रको विशेष महत्व रहेको र भविष्यमा पनि कायम रहने बताइन् । नेपालबाट चीन र चीन हुँदै एसियाका पूर्व–उत्तर र पश्चिमी क्षेत्रका अन्य देशमा पहुँच बढाउन नेपालका लागि तिब्बत एक मात्र विकल्प रहेको उनको भनाइ थियो । नेपाल र तिब्बत स्वायत्त क्षेत्रबीच करिब १५ सय किलोमिटर सीमा जोडिएको छ । कार्यक्रममा नेपालका तर्फबाट तिब्बतसँग दिदीबहिनीको सम्बन्ध रहेको पोखरा उपमहानगरको सहभागिता छ । फोरममा देशहरूबीचको संयुक्त विकास रणनीतिलाई प्रवद्र्धन गर्न, अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्न, मानव र प्रकृतिबीचको सद्भाव प्रवद्र्धन गर्ने विषयमा छलफल भएको छ । 

हिमालयपार क्षेत्रमा जैविक विविधता, प्राकृतिक स्रोत र वातावरणको संरक्षण र मरुभूमीकरण नियन्त्रण, प्रकोप रोकथाम र न्यूनीकरण जस्ता क्षेत्रमा सहकार्य गर्ने विषयमा फोरममा छलफल भइरहेको छ । चीनले हिमाली क्षेत्रमा स्वच्छ र कम कार्बन ऊर्जा र यसको सुरक्षित र प्रभावकारी प्रयोगलाई प्रवद्र्धन गर्ने, नयाँ ऊर्जा, हरित वातावरण संरक्षण र अन्य उद्योगमा सहकार्यलाई गति दिने र आर्थिक र सामाजिक विकासको व्यापक हरित रूपान्तरणलाई सहजीकरण गर्ने जनाएको छ ।

साथै, जलवायु परिवर्तनलाई सम्बोधन गर्न प्रयासहरू बढाउने, कार्बन तटस्थताको उद्देश्यका साथ शिखर कार्बन डाइअक्साइड उत्सर्जन कम गर्न सक्रिय र विवेकपूर्ण कार्यहरू लिने, पेरिस सम्झौताको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई बढावा दिने, स्वच्छ र सुन्दर संसार निर्माण गर्न मिलेर काम गर्ने र सक्रिय रूपमा मानव जाति र प्रकृतिबीच साझा भविष्य निर्माण गर्ने विषय फोरममा छलफल भइरहेका छन् । फोरममा नेपालसहित ३९ देशबाट दुई सय ८४ जना विदेशी सहभागी छन् ।

See More On

सुझावित समाचार