विज्ञापन व्यवसायी पौडेलको पुस्तक ‘वेलकम आरोह अवरोह’ सार्वजनिक

बिहिबार, १८ असोज, २०८०
डिजिटल संस्करण

विज्ञापन व्यवसायी निर्मलराज पौडेलको पुस्तक ‘वेलकम आरोह–अवरोह’ सार्वजनिक भएको छ । पौडेलले आफ्नै आत्मकथामा आधारित भोगाइका अतिरिक्त नेपालको सञ्चार क्षेत्रको अवस्था, विज्ञापन निर्माण र यसको बजारलगायतका विषय समेटिएको पुस्तक बजारमा ल्याएका हुन् । 

घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको पुस्तकमा लेखक पौडेलले पहिलेको काठमाडौं उपत्यकाको भौगोलिक तथा सामाजिक अवस्थाको चित्रणका साथै नेपालमा लामो समयदेखिको आमसञ्चार क्षेत्रको अवस्था र चुनौतीका साथै विज्ञापन निर्माण र वितरणको विगतको अवस्था र अव धारणा प्रस्तुत गरेका छन् । 

नेपाल विज्ञापन एजेन्सी व्यवसायी संघको अध्यक्षसमेत रहिसकेका पौडेलले पुस्तकमा व्यावसायिक जीवनका आरोह–अवरोह, विज्ञापनलाई समाजले हेर्ने दृष्टिकोण र विज्ञापन व्यवसायमा आफूले भोग्नुपरेका सफलता, असफताका कथा पनि समेटेका छन् । 

उनले विज्ञापन क्षेत्रमा नयाँपन ल्याउने आफ्नो प्रयाससँगै आफूले जाने–भोगेका विषयवस्तुलाई सार्वजनिक गरी नेपालको सञ्चार तथा विज्ञापन क्षेत्रमा लागिरहेका र यस क्षेत्रमा लाग्ने आगामी पुस्ताले थाहा पाउनुपर्ने आधारभुत विषयसमेत समेटेका छन् । 

पुस्तकमा क्लिन फिडको अवधारणा, बाढीपीडितका लागि गरिएको पहिलो ‘एसएमएस क्याम्पियन’, भूकम्पका वेला विदेशमा रहेका नेपालीबाट एक डलर र स्वदेशमा रहेकाहरूबाट एक सय रुपैयाँ संकलनको अवधारणा र यसले पु¥याएको सहयोगको प्रसंग पनि राम्रोसँग उल्लेख गरिएको छ । 
 

सुझावित समाचार