कामकाजी महिलामा बढ्दै छ जिममोह

बिहिबार, १८ असोज, २०८०
डिजिटल संस्करण

पछिल्लो डेढ वर्षयता ललितपुरकी सिर्जना सुवेदी बिहान ६ नबज्दै ललितपुरकै हरिसिद्धिस्थित चार्मिङ फिटनेस पुग्छिन् । ‘नियमित एक्सरसाइजले मलाई स्वस्थ रहन सहयोग पुगेको छ । यसका शारीरिक र मानसिक फाइदा धेरै छन् । जिम आउँदा धेरैसँग मित्रता हुन्छ, यो उमेरमा पनि फ्रेस रहन सहयोग पुग्छ,’ इट्को नेपाल प्रालिकी वरिष्ठ प्रशासक सुवेदीले भनिन् । 

ललितपुरकी वर्षा गुरुङले पनि फिटनेस सेन्टर धाउन थालेको एक वर्षभन्दा बढी भयो । उनी शिक्षण पेसामा आबद्ध छिन् । बिहान व्यायाम गरेपछि दिनभर स्फूर्ति मिल्ने उनी सुनाउँछिन् । उनी भन्छिन्, ‘मेरो लागि स्वस्थ रहन यो उत्तम उपाय हो । जुम्बालगायत एक्सरसाइज एकदम फाइदाजनक छ । मेरो तौल नियन्त्रण र दिमागलाई ताजा राख्न मद्दत गरेको छ । बिहान पसिना बगाउँदा मानसिक रूपमा ताजा र आनन्द महसुस हुन्छ । अझै तौल घटाउने प्रयासमा छु,’ लिटिल एन्जल्स कलेजकी लेक्चरर गुरुङले भनिन् । 

राज महर्जन : सञ्चालक तथा डान्स कोरियोग्राफर चार्मिङ फिटनेस
बिहान जिममा एक्सरसाइज गरेर आफ्नो दिनचर्या सुरु गर्ने धेरै छन्, फ्याट लस र मसल्स गेन गर्न आउने गर्छन् ।

चार्मिङ फिटनेसका सञ्चालक तथा डान्स कोरियोग्राफर राज महर्जन पछिल्लो समय शारीरिक व्यायामका लागि अधबैँसे महिलाको संख्या ह्वात्तै बढेको बताउँछन् । ‘तौल बढेर आजित भएका महिला आउने गर्छन् । बिहान जिममा एक्सरसाइज गरेर आफ्नो दिनचर्या सुरु गर्ने धेरै छन्,’ उनी भन्छन्, ‘ फ्याट लस र मसल्स गेन गर्न पनि आउने गर्छन् । एकजनाको जिम सुरु गर्दा ९६ केजी तौल थियो, अहिले ८१ केजीमा झरेको छ । ’

नियमित आफूले ३० जना महिलालाई जिम हलमा एक्सरसाइज गराउने उनले बताए । एक्सरसाइजमा दुई दिन कार्डियो र एरोबिक, दुई दिन जुम्बा, एक दिन थेरापी तथा बडी लिफ्टिङको एक्सरसाइज गराउने उनको भनाइ छ । उनी भन्छन्, ‘पुरुषको तुलनामा महिलाको तौल घटाउन समय लाग्छ । एक्सरसाइज मात्रै नभएर डाइट प्लान पनि गर्नुपर्छ ।’

काठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सुरेश सुवेदी केही वर्षयता काठमाडौंलगायत सहरिया महिलामा जिम गर्ने चेतको विकास भएको बताउँछन् । भन्छन्, ‘पहिले पुरुष मात्रै थिए, जिम सेन्टर जाने । तर, हिजोआज आकर्षक शरीर देखाउनका लागि पनि जिम सेन्टर धाउने सहरिया महिलाको संख्या बढ्दो छ ।’

काठमाडौंस्थित सामाखुसीमा थ्री लाइनस् फिटनेस सेन्टरका सञ्चालक खेमराज निरौला कामकाजी महिला नियमित एक्सरसाइजका लागि आउने गरेको बताउँछन् । अहिले थ्री लाइनस् फिटनेस सेन्टरमा बिहान–बेलुका ६० जना महिला आउने उनको भनाइ छ । 

उनी भन्छन्, ‘सुगर, युरिक एसिड, मोटोपनालगायत समस्या भएका महिला स्वस्थ रहन आउने गर्नुभएको छ । कतिपय महिला फिट रहनका लागि आउनुहुन्छ । हाम्रोमा अधिकांश गृहिणी महिला नै आउनुहुन्छ ।’

व्यायामले मानिसलाई सामाजिक रूपमा घुलमेल हुन सहयोग पुर्‍याउने उनी बताउँछन् । ‘कतिपय महिला सामाजिक हुन भने सकिरहेका हुँदैनन् । गृहिणी महिला झन् घरको काममै व्यस्त हुन्छन् । व्यायाम गर्दा उनीहरूलाई सामाजिक हुन सहयोग पुग्छ,’ निरौला भन्छन्, ‘एरोबिक, जिम, डान्स वा जेसुकै गर्दा पनि बिस्तारै सामाजिक रूपमा घुलमेल हुन सहयोग पुग्छ । हामी वेला–वेलामा गृहिणीका लागि छुटसहितको प्याकेज पनि खुलाउँछौँ ।’

दक्ष प्रशिक्षकद्वारा महिलाहरूका लागि जुम्बा, कार्डियोलगायतको अन्य एक्सरसाइज पनि गराइने उनले बताए । ‘नियमित एक्सरसाइजले स्वस्थ मात्र नभएर योङ देखाउन पनि सयोग गर्छ । शरीरको तौल घटाउन वा बढाउन आवश्यकताअनुसार एक्सरसाइज पनि गर्न सकिन्छ,’ उनले भने । 

तौल घटाउनका लागि एक्सरसाइज गरेर मात्रै नपुग्ने कोरियोग्राफर राज महर्जन बताउँछन् । ‘हामीले विशेषगरी खानेकुरामा ध्यान दिनुपर्छ । मु्ख्य भनेको डाइट ब्यालेन्स नै हो । त्यसैले बिहान–बेलुका खाने समयतालिका मिलाउनुपर्ने हुन्छ,’ उनले भने । 

जिम, जुम्बा, एरोबिकलागयत अन्य एक्सरसाइज पनि आफ्नो इच्छाअनुसार गर्न सकिने महर्जनले बताए । उनी भन्छन्, ‘जुम्बा एक्सरसाइज गर्ने सजिलो माध्यम पनि हो । यो गीतमा नाचेर रमाउँदै गर्न सकिन्छ । यो अहिले प्रभावकारी र लोकप्रिय पनि बन्दै गएको छ ।’

See More On

सुझावित समाचार