नेपालगन्ज घटनालाई कसरी हेर्नुभएको छ ?
हाम्रो देशमा हजारौँ वर्षदेखि जातीय, धार्मिक तथा सामाजिक सद्भाव कायम छ । यसलाई बिगार्न सकियो या यसमा कुनै पनि कोणबाट खलल पु¥याउन सकियो भने दक्षिणपन्थी राजनीतिलाई उठाउन सकिन्छ कि भन्ने सोचले यस्ता घटनामा थोरै प्रभाव पारेको हुन सक्छ । दक्षिणी छिमेकको राजनीतिको प्रभाव सीमावर्ती निकट गाउँ तथा सहरमा परेको पनि हुन सक्छ । पहिचानको राजनीति गर्नेहरूमध्ये पनि कतिपयमा अतिवादी सोचले काम गरिरहेको हुन सक्छ । जातीय, धार्मिक र सामाजिक सद्भाव बिथोल्न पाए राजनीतिक धु्रवीकरण बढाएर स्वार्थपूर्ति गर्न सकिन्छ भन्ने अतिवादी सोचले पनि यसमा मलजल गरेको हुन सक्छ ।
हजारौँ वर्षदेखि कायम सद्भावलाई जोगाइराख्न के गर्नुपर्छ ?
यसलाई जोगाउन त्यति कठिन छैन । किनकि, हाम्रो समाज दुई–तीन सय वर्षको इतिहास बोकेको समाज होइन । यो चार–पाँच हजार वर्षभन्दा लामो इतिहास बोकेको समाज हो । त्यसैले, यहाँको धार्मिक, सामाजिक सद्भावमा खलल पु¥याउन सजिलो छैन । यस तथ्यलाई यहाँका सम्पूर्ण समुदायले पनि राम्ररी बुझेका छन् । त्यसैले, हाम्रो समाजले नै यहाँको सद्भावलाई कायम राख्छ । केही गलत तत्वले खेल्न खोजे पनि त्यो क्षणिक साबित हुने छ । यहाँ कसैले चाहँदैमा ठुलो ‘स्केल’मा हाम्रो सद्भावलाई भाँड्न सक्दैनन् ।
सद्भाव जोगाउन हाम्रो राजनीतिले कस्तो भूमिका खेल्नुपर्छ ?
राजनीतिक दलले आआफ्नो प्रभाव क्षेत्रमा सकारात्मक भूमिका खेल्न सक्नुपर्छ । उनीहरूले सद्भाव कायम राख्न आआफ्ना कार्यकर्तालाई प्रशिक्षित गरेर यस्ता घटनाबाट उनीहरूलाई टाढै राख्न सक्नुपर्छ ।