माङ्सेबुङमा दुई हजार ५८८ लाई धनीपूर्जा दिने तयारी

मंगलबार, १६ असोज, २०८०
डिजिटल संस्करण
माङ्सेबुङमा दुई हजार ५८८ लाई धनीपूर्जा दिने तयारी

जग्गाको निस्सा लिँदै माङ्सेबुङ-६ का बलराम राई ।

इलामको माङ्सेबुङ गाउँपालिकाका दुई हजार ५८८ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपूर्जा दिने तयारी थालिएको छ।

धनीपूर्जाका लागि फारम भरेकालाई गाउँपालिकाले मंगलबारबाट निस्सा वितरण सुरु गरेको छ। माङ्सेबुङ–६ बाट सुरु भएको निस्सा वितरण २६ असोजमा ६ वटै वडामा सक्ने गरी गाउँपालिकाले काम गरिरहेको प्रवक्ता सुसन राईले जानकारी दिए। राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा गाउँपालिकाले धमाधम काम गरिरहेको उनले बताए।

माङ्सेबुङ गाउँपालिकामा जम्मा दुई हजार ५८८ जनालाई जग्गाधनी प्रमाणपूर्जा दिनुपर्ने माङ्सेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए । उनका अनुसार गासउँपालिकामा भूमिहीन दलित २३, भूमिहीन सुकुम्बासी २२८ र अव्यवस्थित बसोबासी दुई हजार ३०६ जना रहेको उनले बताए।

‘गाउँपालिकाको सबैभन्दा ठूलो समस्याको रूपमा जग्गाधनी प्रमाणपूर्जाको समस्या हो। यसलाई समाधान गर्न हामी लागि परेका छौँ । अहिले निस्सा वितरण गरेका छौँ,’ उनले भने, ‘भूमि आयोगसँग समन्वयमा काम अघि बढाएर चाँडै धनीपूर्जा नै वितरण गर्ने छौँ।’ उनले अब चाँडै नै नापी कार्यालयसँग सम्न्वय गरेर जग्गा नाप–जाँचको काम पनि अघि बढाइने बताए।  

निस्सा वितरणपछि स्थानीयले जग्गा धनीप्रमाण पूर्जा पाउनेमा आसावादी रहेको बताए । ‘मेरो हजुरबुवाले भोग गरेको यो पाँच रोपनी जग्गाको बल्ल–तल्ल निस्सा पाएँ। यत्रो वर्ष भोग गरेर पनि आफ्नो जग्गा हो भन्ने प्रमाण थिएन,’ माङ्सेबुङ–६ दमाहार धनबहादुर तिम्सिनाले भने, ‘अब पुर्खौँदेखि भोग गरेको जग्गाको धनीपूर्जा पाउने भएँ भन्ने आसा लागेको छ । पुस्तौँ भोग गरेको जग्गालाई बल्ल आफ्नो भन्न पाइने भयो।’

माङ्सेबुङ–६ का शेरबहादुर राईले हजुरबुवादेखि भोग गर्दै आएको २० रोपी जग्गाको धनीपूर्जाका लागि फारम भरेको प्रमाण स्वरूप निस्सा पाए। पुस्तौँ भोगेको जग्गाको सरकारी कागजका रूपमा निस्सा पाउँदा उनको अनुहारमा खुसीको सीमा थिएन। ‘हजुरबुवा र बुवाले नपाएको धनीपूर्जा मैले पाउने भए,’ उनले भने, ‘अब धनीपूर्जा चाँडै पाइयोस्। मैले नै धनीपूर्जा पाउँ भन्ने लागेको छ।’

मंगलबार भूमि आयोगको समन्वयमा माङ्सेबुङ–६ का तीन सय ८७ परिवारलाई निस्सा वितरण गरेको छ। निस्सा वितरण कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई, राष्ट्रिय भूमि आयोग इलामका अध्यक्ष भक्त केसी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललगायतले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरेका थिए।

सुझावित समाचार