एमाले कोशी प्रदेशकाे अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

मंगलबार, १६ असोज, २०८०
डिजिटल संस्करण

प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतले पराजित गर्दै घनश्याम खतिवडा अध्यक्षमा निर्वाचित भए

एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् ।

प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतले पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । सोमबार राति सम्पन्न मतगणनाअनुसार विजयी अध्यक्ष खतिवडाले पाँच सय १२ र प्रतिस्पर्धी ढकालले चार सय ३० मत प्राप्त गरे ।

निर्वाचित अध्यक्ष खतिवडा मोरङको लेटाङ र प्रतिस्पर्धी ढकाल  मोरङको विराटनगर निवासी हुन् । यसैगरी,  एमाले कोशी प्रदेशको उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङग निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा उनी एकजनाको मात्र उम्मेदवारी दर्ता भएको थियो ।

सचिवमा पाँचथरका राजकुमार भण्डारी पाँच सय २४ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी उदयपुरका सैलेश लामाले तीन सय ८१ मत प्राप्त गरेका छन् । सहसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी भए । राजवंशीले ६ सय २८ र राईले ६ सय १० मत प्राप्त गरे । उनीहरूका प्रतिस्पर्धी  मोरङका खेम नेपालीले तीन सय ९८ मत प्राप्त गरे । अधिवेशनमा कुल सहभागी नाै सय ७७ जना प्रतिनिधिमध्ये नाै सय ७७ जनाले नै मतदान गरेका थिए ।

१२ असोजदेखि सुरु भएको एमालेको प्रथम कोशी अधिवेशनमा नेतृत्वसहित पदाधिकारी सर्वसम्मत गराउने प्रयास भएको थियो । तर, सर्वसम्मत हुन नसकेपछि निर्वाचनमार्फत पदाधिकारी र सदस्य चयन गरिएको हो । पार्टीले निर्देशन गरे पनि प्रतिस्पर्धीहरूले अलग–अलग प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धा गरेका थिए । 

सुझावित समाचार