भारतमा एक महिना प्रशिक्षण गरेको नेपाली कबड्डी टोलीले बंगलादेशलाई ३७–२४ ले हराउँदै कांस्य पदकको सम्भावना बलियो बनायो
१९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)मा महिला कबड्डी खेल समावेश हुने तय भएसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पनि नेपाली महिला टोलीलाई सहभागी गराउने निश्चित गर्यो । त्यो वेलासम्म कबड्डीलाई केवल अन्तर्राष्ट्रिय एक्सपोजर र अनुभव बटुल्नका लागि मात्र एसियाडमा पठाउन लागेको राखेपले जनाएको थियो । राखेप र नेपाल ओलम्पिक कमिटीले यसलाई पदक जित्ने लिस्टमा अनुसूची गरेका थिएनन् । नेपालका सम्बन्धित उच्च निकायका पदाधिकारीहरूको पदक भित्र्याउने लिस्टमा कराँते, बक्सिङ, तेक्वान्दोजस्ता खेललाई राखेका थिए । ती खेललाई विशेष तयारी गराइयो । दैनिक निगरानी र वैदेशिक प्रशिक्षणमा पठाइएको थियो ।
यसबाहेक अन्य खेलबाट उनीहरूले पदकको आशा नै गरेका थिएनन् । यद्यपि, खेलाडीहरूलाई भारतमा प्रशिक्षण गराउने व्यवस्था गरिएको थियो । राखेपले महिला कबड्डीलाई पनि एक महिना प्रशिक्षण गर्न भारत पठाएको थियो । त्यही भारतमा एक महिना प्रशिक्षण लिएको कबड्डी सोमबार १९औँ एसियाडमा कसैले कल्पना नगरेको उपलब्धितर्फ उन्मुख भएको छ ।
एसियाडको डेब्यु खेलमै महिला कबड्डीले छिमेकी बंगलादेशलाई जिआओसान गुआली स्पोर्टस् सेन्टरमा ३७–२४ ले हरायो । बंगलादेशमाथिको जितको विशेष अर्थ छ । यो जितले पदकविहीन हुने अवस्थामा पुगेको नेपाललाई जडीबुटी प्रदान गरेको छ । अर्थात्, नेपाल लगभग महिला कबड्डीबाट पदक जित्ने बाटोमा हिँडेको छ । समूह ‘ए’मा नेपाल, इरान र बंगलादेश छन् । इरान र बंगलादेशबीच खेल मंगलबार हुँदै छ । फेरि इरानले अघिल्लो संस्करणमा स्वर्ण जितेको थियो ।
इरानले सहजै बंगलादेशलाई हराउने अपेक्षा छ । इरानको जितले नेपाल अन्तिम चारमा पुग्नेछ । प्रतियोगिताको नियमअनुसार समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलमा पराजित दुवै टोलीलाई कांस्य पदक प्रदान गरिनेछ । यस अर्थमा नेपाल सेमिफाइनल निकै नजिक पुगेको छ । यसका लागि नेपालले इरान र बंगलादेशबीचको खेल प्रतीक्षा गर्नुपर्छ ।
बंगलादेशविरुद्ध नेपालले १५ मिनेटको पहिलो हाफमा २१–१६ को अग्रता लिएको थियो । दोस्रो हाफमा नेपालले थप उत्कृष्ट प्रदर्शन गरी समग्रमा बंगलादेशलाई ३७–२४ ले निराश पार्यो । डेब्यु खेलमा नेपाली महिला कबड्डीले ऐतिहासिक जित हात पार्यो । नेपालले सन् २०१९ को १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पनि बंगलादेशलाई हराएको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको हो । नेपालको महिला कबड्डी इतिहासमा १३औँ सागमा रजत जित्नु नै अहिलेसम्मकै बृहत् उपलब्धि हो ।
ऐतिहासिक जितमा दंग
एसियाडको डेब्यु खेलमै ऐतिहासिक जित निकाल्दा खुसी नहुने कुरै हुँदैन । नेपालले बंगलादेशलाई २४ स्कोरमा रोक्दै जित निकाल्दा खेलाडी एरिनाभित्र नै उफ्रँदै–उफ्रँदै खुसी मनाएका थिए । उनीहरू एकआपसमा खुुसी साटासाट गर्न व्यस्त देखिन्थे । कोही नेपालको राष्ट्रिय झन्डा अफिसियलसँग माग्दै थिए । कोही भने आफ्ना टिममेटसँग आँसु झारिराखेका थिए । जितसँगै नेपाललाई पदकनजिक पुर्याउँदा पनि उनीहरूको खुसीको सिमाना नै रहेन । नेपाली टोलीकी कप्तान मेनुकाकुमारी राजवंशीले विभिन्न अप्ठ्यारोको सामना गरी एसियाड खेल्न आएको बताइन् । ‘हामीले एसियाडमा भाग लिनुअघि धेरै समस्याको सामना गर्नुपरेको थियो, यसबीच पनि यहाँ आज हामीले ऐतिहासिक जित निकाल्यौँ,’ हर्षित हुँदै उनले भनिन्, ‘सम्भवतः हाम्रो पदक निश्चितजस्तै छ, पदक लगाउन नजिक पुग्दा हामी सबै खुसी छौँ ।’
बंगलादेशको पनि भारतमै चार महिना प्रशिक्षण
बंगलादेशले एसियाडका लागि भनी आफ्ना खेलाडीलाई भारतमै चार महिना प्रशिक्षण गराएको थियो । एसियाडमा पदक जित्न सक्ने सम्भावना भएकाले बंगलादेश कबड्डी एसोसिएसनले आफ्ना खेलाडीलाई विशेष प्रशिक्षणका लागि भारत रोजेको थियो । संघबाट राम्रो साथ पाएको बंगलादेशी खेलाडीले राम्रो तयारी गरेका थिए । त्यही पृष्ठभूमिमा भने नेपाली खेलाडीले केवल एक महिना मात्र भारतमा वैदेशिक प्रशिक्षणको अवसर पायो । भारतबाट फर्केपछि नेपाली महिला खेलाडीले सोचेजस्तै अभ्यास गर्न पाएनन् । नेपालमा निकै सामान्य प्रशिक्षण गरी हाङझाउ आएको हो । ‘हामीले हरियाणामा एक महिना अभ्यास गरौँ,’ कप्तान राजवंशीले भनिन्, ‘अभ्यास खेल पनि राम्रो भएकाले बंगलादेशसँग सहज भएको हो ।’ राजवंशीले लगभग डेढ दशक कबड्डीमै समय बिताएकी छिन् ।
कबड्डी हल बनाइदिनुहोला : मेनुकाकुमारी राजवंशी, कप्तान, नेपाल कबड्डी
एसियाडमा कबड्डी प्राथमिकतामा छैन । यो खेल बिस्तारै ओझेलमा पर्दै गएको छ । अहिले हामी ऐतिहासिक पदकनजिक छौँ । क्रिकेट, भलिबल, बास्केटबलजस्तै कबड्डीका लागि पनि अभ्यास गर्ने एउटा हल हुनुपर्यो । हल नहुँदा हामीले एसियाली खेलकुदका लागि राम्रो अभ्यास गर्न पाएनौँ । मैले कबड्डी खेल्न थालेको १५ वर्ष भएको छ । यस खेलमा लागेदेखि नै एसियाड खेल्ने सपना देखेकी थिएँ । आज यो पूरा भएको छ । म मात्र नभएर टोलीमा रहेका हरेक खेलाडीको एसियाड खेल्ने मनोकांक्षा पूरा भएको छ । अझ यसमा हामीले ऐतिहासिक जित निकालेका छौँ, त्योभन्दा अरू बढी खुसी के हुन सक्छ । नेपाली खेलाडीका लागि एसियाड भनेको नै ओलम्पिकजस्तै हो । हामी ओलम्पिक खेल्न सक्दैनौँ, तर त्यही स्तरमा हामीले एसियाडमा भाग लिएर अनुभव बटुल्न सक्छौँ । हरियाणाको एकदमै गर्मीमा अभ्यास गरेर जेका लागि मिहिनेत गरेर पसिना बगाएका थियौँ, आज त्यो पूरा भयो ।
पदकनजिक पुग्दा बयान गर्न शब्द छैन : पार्वती राई, प्रशिक्षक, नेपाल कबड्डी
हामी एसियाडमा पहिलोपटक सहभागी भएको खेलमै पदकनजिक पुगेका हौँ । डेब्यु खेलमा ऐतिहासिक जित निकाल्यौँ । पदकनजिक पुग्दाको क्षण शब्दमा बयान गर्न सक्ने अवस्था नै छैन । खेलाडीलाई अवसर दिँदा केही असम्भव छैन भन्ने प्रमाणित भएको छ । लामो सयम बन्द प्रशिक्षण र सुविधा दिए नेपालले पदक जित्न सक्छ । हामीले कठिन अवस्थामा पनि अभ्यास गरेका थियौँ । खेलाडीले पनि कुनै गुनासो नगरी मिहिनेत गर्दा यो सफलता हात पार्न सफल भयौँ ।
भारोत्तोलन : शारदालाई पाँचौँ स्थान
भारोत्तोलनअन्तर्गत समूह ‘बी’को महिला ६४ केजीमा नेपालकी शारदा चौधरी पाँचौँ स्थानमा रहेकी छिन् । उनले स्न्याचमा ७० तथा क्लिन एन्ड जर्कमा ८८ केजी गरी १५८ केजी भार वहन गरेकी हुन् । स्न्याचको पहिलो लिफ्टमा ७० केजी र तेस्रो लिफ्टमा ७४ केजी उचाल्ने प्रयास गरेकी शारदा असफल भइन् । शारदाले क्लिन एन्ड जर्कमा उठाएको ८८ केजी पहिलो लिफ्टमा हो । शारदाले क्लिन एन्ड जर्ककै दोस्रो र तेस्रो लिफ्टमा समान ९४–९४ केजी भार वहन गर्ने प्रयास सफल भएन । यससँगै भारोत्तोलनमा नेपाली महिला खेलाडीको यात्रा समाप्त भएको छ । यसअघि टीकामाया गुरुङले प्रतिस्पर्धा गरेकी थिइन् । पुरुष खेलाडी विशालसिंह विष्ट, विकास भट्ट र सागर भण्डारी राष्ट्रिय रेकर्डसम्म नजिक पुग्न सकेनन् ।
ब्याडमिन्टन : दुवै टोली प्रिक्वार्टरफाइनलमा
ब्याडमिन्टनको मिक्स डबल्स र पुरुष डबल्समा नेपाल प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । दुवै स्पर्धामा नेपाल २–० को सोझो सेटमा विजयी भयो । बिन्जियाङ जिम्न्यासियममा भएको मिक्स डबल्समा नेपालका विष्णु कटुवाल र नङसल तामाङको जोडीले मंगोलियाका जोल्जाया र खेर्लेन दरखान्बटारको जोडीलाई २१–१६ र २१–१७ को सोझो सेटमा पराजित गर्यो । अर्को मिक्स डबल्समा सिंगापुरका तेरी काइ यङ ही र हान वेइ जेसिका तानको जोडीले सहज जित निकाल्ने क्रममा नेपालका जीवन आचार्य र निता लम्सालको जोडीमाथि २१–४ र २१–३ ले हराए । पुरुष डबल्समा नेपालका जीवन आचार्य र विष्णु कटुवालको जोडीले माल्दिभ्सका निबल अहमद र अज्फान मोहम्मद रसिदको जोडीलाई २१–१७ र २१–१८ को सीधा सेटमा हरायो । सोही स्पर्धामा थाइल्यान्डका पिरात्चाई सुक्फुन र पाकापोन तिरारत्सकुलको जोडीले नेपालका प्रिन्स दाहाल र सुनील जोशीको जोडीलाई २१–८ र २१–५ ले पन्छाए । पुरुष एकलमा जापानका केन्टा निसिमोटोले नेपालका प्रिन्स दाहाललाई २१–१२ र २१–७ ले हराए । थाइल्यान्डका कान्ताफोन वाङचारियोनले नेपालका सुनील जोशीलाई २१–७ र २१–९ को सोझो सेटमा पाखा लगाए ।
एथलेटिक्स : कुमाल तेस्रो हिटमा चौथो
एसियाडको उद्घाटन भएको र समापन हुने रंगशालामा एथलेटिक्सको पुरुष आठ सय मिटर दौडमा नेपालका सोमबहादुर कुमाल आफ्नो तेस्रो हिटमा चौथो भएका छन् । उनको हिटमा नेपालसहित सातै राष्ट्रका सात खेलाडी थिए । हाङझाउ ओलम्पिक स्पोर्टस् सेन्टरमा कुमालले निर्धारित दूरी पूरा गर्न एक मिनेट ५०.३८ सेकेन्ड सयम खर्चे । हिटको समग्रमा २१ मध्ये कुमाल ११औँ स्थानमा रहे । सोमले २ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । उनी यसअघि नै चार सय मिटर दौडबाट बाहिरिइसकेका छन् ।
ट्रायथलन : नेपाल ११औँ स्थानमा
ट्रायथलनको मिक्स रिलेमा नेपालले ११औँ स्थान प्राप्त गरेको छ । मिक्स रिलेमा १२ राष्ट्रको सहभागिता रहेको थियो । नेपालबाट मौलिक महर्जन, युस्का महर्जन, बसन्त थारू र श्रेबी महर्जनले प्रतिस्पर्धा गरेका थिए । मंगोलिया अन्तिममा रह्यो । नेपाली खेलाडीले कुनै पनि समयमा राम्रो टाइमिङ निकाल्न सकेनन् ।