नेपालले चीनमा जारी १९औँ एसियाली खेलकुद (एसियाड)अन्तर्गत क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा मंगलबार भारतसँग टस हारेको छ । झेजिङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भारतका कप्तान ऋतुराज गायकवाडले पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
टेस्ट मान्यता प्राप्त भारत सीधैँ क्वार्टरफाइनल खेलेको हो । नेपालले समूह ‘ए’ मा मंगोलियालाई विश्वकीर्तिमानी रूपमा दुई सय ७३ रनले हराएको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई एक सय ३८ रनले हराउँदै अन्तिम आठको स्थान पक्का गरेको हो ।
नेपाल र भारतबीच पहिलोपटक अन्तर्राष्ट्रिय टी–२० खेल भइरहेको छ । आइसिसीको पछिल्लो टी–२० वरीयतामा भारत शीर्ष स्थानमा र नेपाल १६औँ स्थानमा छ । भारतले दक्षिण अफ्रिकामा सन् २००७ मा भएको आइसिसी टी–२० विश्वकपको उपाधि जितेको थियो । भारतले चार ओभरसम्म कुनै पनि विकेट गुमाएको छैन । भारतले ५४ रन बनाएको छ ।
नेपालको प्लेइङ–११
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनाश बोहाेरा ।
भारतको प्लेइङ - ११
ऋतुराज गायकवाड (कप्तान), यशस्वी जयसवाल, तिलक बर्मा, शिभम दुबे, रिंकु सिंह,जितेश शर्मा, वासिन्टन सुन्दर, साई किशोर, रवि विश्रोई, आवेश खान र अर्शदीप सिंह ।