आइसिसी टी–२० वरीयतामा शीर्ष स्थानमा रहेको भारतसँग नेपालले ऐतिहासिक खेल खेल्दै
एक महिनाभित्र नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रोपटक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भारतविरुद्ध खेल्न अवसर पाएको छ । चीनको हाङझाउमा चलिरहेको १९औँ एसियाडअन्तर्गत क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारत प्रतिद्वन्द्वी पाएको छ । क्वार्टरफाइनलको ड्र निकालिँदा नेपालले आइसिसी टी–२० विश्वकपको पहिलो संस्करणको उपाधि जितेको भारतलाई विपक्षी पाएको हो ।
गत महिना मात्र नेपाली सिनियर टोलीले एसिया कपको समूह ‘ए’मा भारतविरुद्ध प्रदर्शन गरेको थियो । एसिया कपको डेब्युमै नेपालले विश्व क्रिकेटकै महारथी राष्ट्र भारतविरुद्ध ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरी वाहवाही कमाएको थियो । यद्यपि, सो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो ।
अन्तर्राष्ट्रिय टी–२० फम्यार्टमा नेपाल पहिलोपटक भारतसँग खेल्न लागेको हो । पछिल्लो आइसिसीको वरीयतामा भारत शीर्ष स्थानमा छ । आइसिसीले जारी गरेको वरीयताअनुसार भारतले नम्बर एक स्थान रक्षा गर्न दुई सय ६४ रेटिङ प्राप्त गरेको छ । नेपाल वरीयताको १६औँ स्थानमा छ । नेपालले एक सय ७९ रेटिङ बटुलेको छ । यसै महिनादेखि भारतमा एकदिवसीय विश्वकप सुरु हुँदै छ । भारतले विश्वकपलाई लक्षित गरेर एसियाडमा दोस्रो रोजाइका खेलाडी पठाएको छ । भारतमा रहेका खेलाडीहरू इन्डियन प्रिमियर लिगमा आबद्ध छन् ।
गत सिजन चम्केका रिंकु सिंह, यशस्वी जैसवाल, ऋतुराज गायकवाड, आवेश खान, अर्शदीप सिंह, शिवम दुबे, वासिन्टन सुन्दर र राहुल त्रिपाठीलगायतका खेलाडी भारतीय टोलीमा छन् । नेपालले टेस्ट टोलीमध्ये बंगलादेशसँग एक, आयरल्यान्डसँग तीन र जिम्बावेसँग दुईपटक टी–२० खेल खेलेको छ । नेपालले यस विधामा सबैभन्दा धेरै नेदरल्यान्ड्ससँग ९ खेल खेलेको छ । मलेसियासँग आठ खेल खेलेको छ । नेपालले हङकङ, केन्या र युएईसँग समान पाँच खेलमा भिडेको छ ।