ताप्लेजुङका बजारमा म्याद गुज्रिएका सामान छ्यापछ्याप्ती

सोमबार, १५ असोज, २०८०
डिजिटल संस्करण
ताप्लेजुङका बजारमा म्याद गुज्रिएका सामान छ्यापछ्याप्ती

शनिबारे हटियामा ढकबाहेकका सामग्री राखेर तरकारी जोख्दै व्यापारी । तस्बिर : नयाँ पत्रिका

 ताप्लेजुङ सदरमुकाम फुङलिङमा साताको दुईपटक हाटबजार (हटिया) लाग्ने गरेको छ । हटियामा व्यापार गर्ने अधिकांश व्यापारीले नापतौलमा ठगी गर्दै आएका छन् । बजारमा म्याद गुज्रिएका खाद्य सामग्रीको खुलेआम बिक्री हुने गरेको छ । तर, सरोकारवालाले नाम मात्रको अनुगमन गर्ने गरेका छन् ।

 हाटबजारमा डिजिटल तौलसामग्रीको प्रयोग त भएको छैन नै, किलो भन्दै ढुंगा राखेर नाप्ने गरिएको देखिन्छ । हाटबजारबाट सामान किनेकाहरू नापतौलमा ठगिने गरेको बताउँछन् । तर, बजार अनुगमन निर्देशिका, २०७९ को दफा ६ को उपदफा (ख)मा वस्तु वा सेवाको नाप, तौल गुणस्तर र मूल्य मापनका उपकरण ठीक भए–नभएको हेर्ने अधिकार नापतौल कार्यालयलाई छ । नापतौल कार्यालयले नापतौलको अनुगमन नगरेको उपभोक्ताको गुनासो छ । 

ताप्लेजुङमा दसैँ र तिहारको मुखमा बजार अनुगमनको औपचारिकता मात्र निभाउने गरिएको छ । बजारका थुप्रै होलसेल व्यापारीले समेत म्याद गुज्रिएका सामग्री बिक्री गरिरहेका छन् । बिस्कुट, चाउचाउ, कुरमुरे, थुक्पालगायत फास्टफुड तथा जंकफुड म्याद गुज्रिए पनि बिक्री–वितरण भइरहेको पाइने गरेको छ । 

जिल्ला प्रशासन कार्यालयले गत साताबाट दसैँ–तिहार तथा विभिन्न चाडपर्वलक्षित गरी बजार अनुगमन सुरु गरेको छ । अनुगमनका क्रममा किराना, फार्मेसीलगायत विभिन्न पसलमा गुणस्तरहीन र म्याद नाघेका वस्तु भेटिएको अनुगमन समितिका जिल्ला संयोजक सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराईले जानकारी दिए ।

‘बजारमा गुणस्तरहीन र म्याद नाघेका वस्तु पनि पाइएका छन्,’ उनले भने, ‘दोभानमा पनि केही पेय पदार्थ, तथा फास्टफुड म्याद गुज्रिएको पाइएको छ ।’ टोलीले सुकेटार, दोभान र फुङलिङ बजारमा अनुगमन गरेको भट्टराईले जानकारी दिए ।

सुझावित समाचार