प्रमुख अनुगमनकारी निकाय बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आवको १२ असोजसम्म एक हजार एक सय ४६ फर्मको अनुगमन गरी ९२ लाख २५ हजार रुपैयाँ जरिवाना असुल गरेको जनाएको छ । यो अवधिमा तीन सय ४७ फर्महरूमा कैफियत देखिएकाले ५ हजारदेखी तीन लाख रुपैयाँसम्म जरिवाना गरिएको विभागका निर्देशक आनन्दराज पोख्रेलले एक विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन् ।
विभागले वर्षेनी ठूलो रकम राजस्व बापत उठाउँदै आएको छ । विभागले यो अवधिमा एक करोड एक लाख नौ हजार रुपैयाँको अखाद्य बस्तु नष्ट गरिएको विभागले जनाएको छ । गत बर्ष सोही अवधिमा भने ४० लाख ६६ हजार रुपैयाँ जरिवाना असुल गरिएको विभागले जनाएको छ । गत बर्ष दुई सय ८१ अनुगमन टोली परिचालन गरिएकोमा यो बर्ष तीन सय २५ टोली खटिएका छन् ।अनुगमन गरिएका मध्ये २६ फर्म सामान्य अवस्थामा भेटिएको र ३ सय ३२ फर्ममा विभिन्न सुधारको निर्देशन दिइएको विभागले जनाएको छ ।
चाडपर्व शुरु भएसँगै १ असोजदेखि विभागको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभाग, औषधी व्यवस्था विभाग, आन्तरिक राजस्व विभाग, जिल्ला प्रशाशन कार्यालय, पशु सेवा विभागलगायतका निरिक्षकलाई समेटेर दैनिक अनुगमन गरिरहेको जनाएको छ । हाल दैनिक ३५ वटासम्म फर्ममा अनुगमन भइरहेको विभागको भनाई छ ।