काठमाडौंका सहरमा पानी पर्दा हिलो र घाम लाग्दा धुलोको असर देखिन्छ । महानगरपालिकाले धुलो उडाउन करिब एक दर्जन ब्रुमर सञ्चालन गरे पनि हिलो र धुलोको असर कम भएको छैन ।
मुख्य सडकहरू कालोपत्रे तथा ढलान हुनुको बाबजुद महानगर प्रवेश गर्ने सवारीसाधनको टायरमा हिलो तथा धुलो टाँसिएर आउँदा सडक हिलाम्य र धुलाम्य हुने गरेको निष्कर्ष महानगर र ट्राफिक प्रहरीको छ । यसलाई कम गर्न ६ वर्षपहिले महानगरले ‘भेइकल वासिङ सेन्टर’को योजना नै अघि बढाएको थियो ।
त्यतिवेला यसले खुबै चर्चा पायो । तत्कालीन समयका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले ०७४/७५ को नीति तथा कार्यक्रममा उक्त योजनालाई नै समेटे । उपत्यका भित्रिने सवारीसाधनले हिलो र धुलो ल्याउँदा महानगर नै प्रदूषित भएको भन्दै महानगरपालिकाले यो योजना अघि सारेको थियो । जडीबुटी, बल्खु, थानकोट र माछापोखरी क्षेत्रमा ‘भेइकल वासिङ’ राख्न दुई करोड बजेट नै विनियोजन गरेको थियो ।
तर, बढी चर्चा कमाए पनि यो योजना महानगरकै कारण अघि बढ्न सकेन । वार्षिक कार्यक्रममै समेटेर बजेट विनियोजन गरे पनि छिमेकी नगरपालिकाको दोष देखाउँदै महानगरले चारवटा नाकामा वासिङ सेन्टर खोलेन । ‘त्यति वेला हामीले भेइकल वासिङ सेन्टरलाई निकै प्राथमिकतामा राखेका हौँ, तर जहाँ–जहाँ वासिङ मेसिन राख्ने भनिएको हो, त्यो ठाउँ महानगरभित्र परेन,’ काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भने, ‘वार्षिक कार्यक्रममै समेटिए पनि त्यसले पूर्णता पाउन सकेन ।’ उनका अनुसार त्यतिबेला कलंकीमा राख्न खोज्दा त्यो क्षेत्र चन्द्रागिरि नगरपालिकाभित्र परेकाले कठिन भयो ।
त्यस्तै, जडीबुटी क्षेत्र मध्यपुरथिमि नगरपालिका, बल्खु क्षेत्र कीर्तिपुर नगरपालिका र माछापोखरी क्षेत्र ककनी गाउँपालिका क्षेत्रमा परेकाले उनीहरूसँग समन्वय गर्न कठिन भएको थियो । जहाँबाट महानरपालिका सुरु हुन्छ, ती स्थानमा राख्दा सडक साँघुरो हुने र प्रभावकारी नहुने भएकाले भेइकल वासिङ सेन्टर योजना असफल भएको प्रवक्ता मानन्धरले स्विकारे । ‘त्यतिवेला हामीले थानकोट, माछापोखरी, बल्खु र जडीबुटी क्षेत्रमा यो मेसिन राख्न खोजेका हौँ, तर त्यस क्षेत्रका नगरपालिकासँग समन्वय हुन सकेन,’ प्रवक्ता मानन्धरले थपे, ‘बाइरोडको धुलो र हिलो महानगरमा प्रवेश गर्न नदिने योजना असफल हुनुको मुख्य कारण यही हो ।’ उनले त्यसपछिका वर्षहरूमा महानगरले यो योजनालाई नीति तथा कार्यक्रम र बजेटमा नसमेटेको बताए ।
त्यतिवेला उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग महानगरले समन्वय गरेर भेइकल वासिङ सेन्टर राख्ने योजना बनाएको थियो । तर, महानगरपालिकाले नै योजनालाई अघि नबढाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए । ‘त्यतिवेला यो मेसिन राख्नेबारे खुबै चर्चा चलेको थियो, तर सफल हुन सकेन,’ उनले भने, ‘यसरी गाडी धुने सेन्टरहरू भएको भए उपत्यकामा धुलोधुवाँ र प्रदूषण पनि कम हुने थियो ।’ उनले ट्राफिक प्रहरी आफैँले यस्तो मेसिन खरिद गर्न नसक्ने बताए ।
त्यतिवेला राख्ने योजना बनाइएको मेसिनले एकै पटक १० देखि १५ वटासम्म गाडी धुन सक्ने अनुमान गरिएको थियो । महानगरले सो मेसिन भारतबाट खरिद गर्ने योजना बनाएको थियो । तर, राख्ने ठाउँ नै नभएको र आसपासका नगरपालिकालाई दोष देखाउँदै महानगर यो योजनाबाट पछि हटेको थियो ।