ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं १ ढुंगेसाँघुमा निर्माण भइरहेको दुई सय २० केभिएको कोशी करिडोर विद्युत् सबस्टेसन ९० प्रतिशतभन्दा बढी सकिएको छ । निर्माण कार्य सुरु भएको पाँच वर्षमा निर्माण अन्तिम चरणमा पुगेको कोशी करिडोर विद्युत् सबस्टेसन आयोजना प्रमुख राभगेन्द्रकुमार झाले बताए ।
निर्माण कम्पनी केइसी इन्टरनेसनलले सन् २०१८ मा करिब दुई अर्ब ७८ करोड ९१ लाखमा ठेक्का लिएर काम गरिरहेको छ । २०१८ जनवरीमा निर्माण थालेको काम कम्पनीले २०२० डिसेम्बरमा सक्नुपर्ने थियो । तर, कोरोना तथा अन्य प्राविधिक कारणले तीन वर्ष लम्बिएको छ । आगामी २०२३ डिसेम्बरमा कम्पनीले काम सकेर विद्युत् प्राधिकरणलाई जिम्मा लगाउनुपर्नेछ । अहिले विभिन्न ट्रान्सफर्मरहरूमा परीक्षणको काम चलिरहेको छ । वान सर्किटको काम भएको बताउँदै बाँकी केही स्ट्रक्चरका कामहरू भइरहेको बताइएको छ ।
जिल्लाका विभिन्न ठाउँबाट उत्पादन भएका बिजुलीलाई एकीकृत गरी राष्ट्रिय प्रसारणलाइनमा जोड्नका लागि कोशी करिडोर विद्युत् सबस्टेसनको निर्माण भइरहेको झाले बताए । कोशी करिडोरको भवन निर्माण, अर्थ कटिङ, फिलिङ, ट्रान्सफर्मर राख्ने केन्द्रको व्यवस्थापनजस्ता काम भइरहेको छ । ठेक्का सम्झौताअनुसार तेह्रथुमको वसन्तपुरदेखि अहिले निर्माण भइरहेको कोशी करिडोर सबस्टेसनसम्म लाइन जोडिएको छ । त्यसका लागि अहिले बिजुली विस्तारका लागि एक सय २६ वटा टावर निर्माण सकिएको बताइएको छ ।