फुटसलले विद्यार्थीमा ल्याउँछ सकारात्मक परिवर्तन

शुक्रबार, १२ असोज, २०८०
डिजिटल संस्करण

पछिल्लो समय फुटबलको सानो स्वरूप फुटसल युवापुस्ता तथा विद्यार्थीमाझ लोकप्रिय छ । फुटबलजस्तै फुटसलले पनि मानिसको समग्र विकासमा सघाउँछ । समय निकालेर वेला–वेलामा  फुटसल खेल्दा आलस्य, मोटोपन, तनावलगायत धेरै समस्याबाट मुक्ति पाइन्छ । यसले विद्यार्थीलाई स्मार्ट र सिर्जनशील बनाउँछ । किशोरावस्थाका युवाले कम्तीमा हप्तामा एकदेखि दुईपटक (हरेक सेसन एक घन्टादेखि एक घन्टा ३० मिनेट) खेल्दा धेरै फाइदा लिन सक्छन् । 

फिजिकल फिटनेस
फुटसल खेलाडी शारीरिक रूपमा फिट हुन्छन् । खेल्नका लागि सानो क्षेत्रफल र सीमित खेलाडी मात्रै हुने भएकाले पनि प्रत्येक टिमका खेलाडीले निरन्तर मुभ, पास, ड्रिबल तथा सुट गर्नुपर्ने हुन्छ । यसले राम्रोसँग कार्डियोभास्कुलर वर्कआउट गराउँछ । नियमित फुटसल सेसनले स्टामिना बढाउँछ । फिटनेस लेभल सुधार्छ र युवालाई सक्रिय र स्वस्थ राख्छ । 

प्राविधिक सुधार 
फुटसलमा बल नियन्त्रण, सटिक पासिङ र बल ह्यान्डलिङ सीपमा जोड दिइन्छ । फुटबलमा ठूलो क्षेत्रका कारण खेल नियन्त्रित हुन्छ । जबकि, फुटसलको सीमित ठाउँले खेलाडीलाई बलमाथि असाधारण नियन्त्रण विकास गर्न प्रोत्साहित गर्छ । यसरी बलमाथि नियन्त्रण बढेपछि खेलाडीले फुटबल र अन्य खेलमा पनि आफूलाई अब्बल बनाउन सक्छन् । तसर्थ, राम्रा खेलाडी उत्पादन गर्न पनि फुटसल प्रभावकारी छ । 

टिमवर्क 
फुटसल टिममा रहेर खेलिने खेल हो । यसमा खेलाडीहरू एक–अर्कासँग मज्जाले घुलमिल हुन्छन् । उनीहरूबीच आपसी कुराकानी, मित्रवत् सम्बन्ध विकास हुन्छ । एक–अर्कालाई सहयोग गर्ने र एक–अर्काको सह–अस्तित्व स्विकार्ने बानीको विकास गराउनका लागि यो महत्वपूर्ण छ । यस खेलमा गोलका अवसर सिर्जना गर्न र विपक्षी टोलीलाई गोल गर्नबाट रोक्नका लागि सबै खेलाडी मिलेर भिड्नुपर्ने हुन्छ ।  तसर्थ,  फुटसल खेलेर विद्यार्थीले आवश्यक टिमवर्क र सञ्चार सीप विकास गर्न सक्छन् । खेलकुदमा मात्र नभई उनीहरूको शैक्षिक र व्यावसायिक जीवनमा पनि यसको अर्थ रहन्छ । 

निर्णय क्षमता 
फुटसलको तीव्र गतिले खेलाडीलाई दबाबमा छिटो निर्णय गर्न बाध्य बनाउँछ । यो सीप विद्यार्थीका लागि महत्वपूर्ण छ, किनकि यसले उनीहरूलाई जीवनका विभिन्न पक्षमा मद्दत गर्न सक्छ । जस्तै, समस्या समाधान, समय व्यवस्थापन, शैक्षिक र व्यक्तिगत परिस्थितिमा निर्णय लिने क्षमता विकास हुन्छ । 

मनोरञ्जन 
आत्मविश्वास निर्माण गर्न, सामाजिक सम्बन्ध विकास गर्न र मित्रवत् भावनाका लागि फुटसलले सहयोग गर्छ । शारीरिक गतिविधिमा संलग्न हुँदा रक्तसञ्चार राम्रो हुन्छ, शरीरबाट राम्ररी पसिना बग्छ र मानसिक रूपमा मानिसले रमाइलो महसुस गर्छन् । तनाव कम भएर जान्छ । यसले विद्यार्थीलाई सिर्जनशील बनाउँछ । 

निष्कर्ष
फुटसलले विद्यार्थीलाई शारीरिक र मानसिक दुवै रूपमा लाभ प्रदान गर्दछ । यसले शारीरिक तन्दुरुस्तीलाई बढावा दिन्छ, प्राविधिक सीप बढाउँछ, टोली कार्य र सञ्चारलाई प्रोत्साहन गर्छ, निर्णय गर्ने क्षमता तिखार्छ । सकारात्मक सोचको विकास गर्छ । त्यसैले फुटसल केवल खेल मात्रै होइन, व्यक्तित्व विकास र स्वस्थ रहने माध्यम पनि हो । 

See More On

सुझावित समाचार