आजबाट एमाले कोशी प्रदेशको अधिवेशन : नेतृत्वका लागि चार आकांक्षी मैदानमा

शुक्रबार, १२ असोज, २०८०
डिजिटल संस्करण

अधिवेशनले अध्यक्षसहित पाँचजना पदाधिकारीसमेत गरेर जम्मा दुई सय १५ जना सदस्य निर्वाचित गर्नेछ

आजदेखि नेकपा एमाले कोशी प्रदेश समितिको प्रथम अधिवेशन हुँदै छ । प्रदेश राजधानी विराटनगरमा (१२ र १३ असोज) दुई दिनसम्म आयोजना गरिएको अधिवेशनमा १४ जिल्लाका नाै सय ९७ सहित कुल एक हजार ४८ जना प्रतिनिनिधिले सहभागिता जनाउँदै छन् । 

विराटनगरको बरगाछीस्थित होटेल मनास्लुमा आयोजना हुने प्रथम कोशी प्रदेश अधिवेशनको उद्घाटन एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले आज दिउँसो गर्दै छन् । अधिवेशनलाई भव्य र सभ्य बनाउन विभिन्न १२ वटा उपसमिति गठन गरिएको छ । अधिवेशनको सबै तयारी पूरा भएको छ । जिल्लाबाट प्रतिनिधि आउने क्रम जारी रहेको एमाले केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठले जानकारी दिए । 

उनका अनुसार अधिवेशन सम्पन्न गर्न प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ । यसले अधिवेशनलाई व्यवस्थित गर्न राजनीतिक संगठन प्रतिवेदन, प्रतिनिधि व्यवस्थापन, आर्थिक, खाद्य, आवास, अतिथि सत्कार, स्वास्थ्य, स्वयंसेवक, मञ्च व्यवस्थापन, यातायात र सांस्कृतिक र प्रचारप्रसार उपसमिति सक्रिय रहेका छन् ।

एमालेले प्रथम कोशी प्रदेश अधिवेशनलाई भव्य बनाउन प्रदेश राजधानी विराटनगरलाई तुल–ब्यानरले सजाइएको छ । यस्तै पञ्चालीस्थित पार्टी कार्यालयलाई पनि झकिझकाउ पारिएको छ । 

अधिवेशनले अध्यक्षसहित पाँचजना पदाधिकारीसमेत गरेर जम्मा दुई सय १५ जना सदस्य निर्वाचित गर्नेछ । एमाले पार्टीको विधानअनुसार अधिवेशनमा सहभागी सबै प्रतिनिधिले आफूले चाहेको पदमा उम्मेदवारी दिन र मतदान गर्न  अधिकार प्राप्त गर्नेछन्। 

अध्यक्षमा लागि चार आकांक्षी : ढकाल र खतिवडाबीच मुख्य प्रतिस्पर्धा

एमाले कोशी प्रदेशको अध्यक्ष बन्नका लागि चारजना उम्मेदवार आकांक्षी देखिएका छन् । जसमा केन्द्रीय सदस्य विनोद ढकाल, वर्तमान कोशी अध्यक्ष तुलसीप्रसाद न्यौपाने, प्रदेश उपाध्यक्ष टीकाराम चेम्जोङ र प्रदेश सदस्य धनश्याम खतिवडाको नाम मुख्य रूपमा चर्चामा छ । पदाधिकारीमा भने हालसम्म कसैको नाम चर्चामा आएको छैन।

सर्वसम्मतको प्रयास जारी, तर भएको छैन सहमति 

कोशी प्रदेशको नेतृत्व चयनका लागि एमालेका केन्द्रीय नेताहरूले आपसी छलफललाई तीव्रता दिएका छन् । बिहीबार दिनभर नेतृत्व सर्वसम्मत बनाउनेबारे केन्द्रीय नेताहरूबीच छलफल भएको थियो । विराटनगरको विग होटेलमा भएको छलफलमा कुनै सहमति जुट्न सकेन । 

अधिवेशनका लागि एमालेका नेता ईश्वर पोखरेल, केन्द्रीय सचिव रघुवीर महासेठलगायतका नेताहरू एक दिन अगाडिदेखि नै विराटनगर आएका छन् । केन्द्रीय सचिव रघुवीर महासेठले कोशी प्रदेशमा पार्टीभित्र कुनै गुट र विवाद नभएकाले अध्यक्षसहित सबै पदाधिकारी र सदस्य सर्वसम्मत रूपमा चयन हुने दाबी गरे । उनले अधिवेशनको तयारीबारे बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा भने– लुम्बिनी र बागमती प्रदेशमा जस्तो कोशी प्रेदशमा हुँदैन, यहाँ सबै नेतृत्व सर्वसम्मत रूपमा चयन हुन्छ । यहाँ कुनै आन्तरिक विवाद र गुटबन्दी छैन । 
 

सुझावित समाचार