बिउबिजन प्रयोगशाला हेटौँडा मकवानपुरको अनुदान सहयोगमा भरतपुर– १४ पकडीमा नयाँ बिउ भण्डारगृह निर्माण गरिएको छ। धान, गहुँ, मकै, राजमा, जै घाँस, मसुरो र तोरीको उन्नत जातका बिउबिजन उत्पादन गर्दै आएको उन्नत वीज वृद्धि कृषक समूहको २२औँ वार्षिक साधारणसभा एवं उन्नत वीज वृद्धि कम्पनी प्रालिको १५औँ साधारणसभाको अवसरमा बुधबार बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र कोइरालाले बिउ भण्डारगृहको उद्घाटन गरेका हुन्।
उन्नत वीज वृद्धि कृषक समूहका अध्यक्ष उमानाथ पौडेलका अनुसार बिउबिजन प्रयोगशाला हेटौँडा मकवानपुरको २० लाख ५७ हजार र समूहको २८ लाख ९८ हजार ६६ रुपैयाँसहित ४९ लाख ५५ हजार ६६ रुपैयाँ लागतमा बिउ भण्डारगृहको निर्माण गरिएको हो।
नयाँ भण्डारगृहमा साढे दुई सय मेट्रिक टनसम्म बिउ भण्डारण गर्न सकिनेछ। यसबाहेक संस्थाका एक सय २५ र चार मेट्रिकटन क्षमताका दुईवटा भण्डारगृह पनि छन्।
०५९ सालमा स्थापना भएको उन्नत वीज वृद्धि कृषक समूहले यहाँ १७ वर्षअघि नेपालकै प्रथम सामुदायिक पोस्ट हार्भेस्ट सेवा केन्द्र स्थापना गरेको थियो। लगत्तै खाद्यान्न, दलहन तथा तेल बालीको मूल बिउ उत्पादन गर्दै, प्रमाणित तथा उन्नत बिउहरू उत्पादन, भण्डारण, स्वचालित आधुनिक मेसिन प्लान्टबाट ग्रेडिङ, प्याकेजिङ, ट्यागिङ गरी उच्च गुणस्तरीय बिउ सर्वसुलभ रूपमा बिक्री गर्दै आएको छ।
उन्नत बिउ उत्पादन गर्ने किसान सम्मानित
उन्नत विज वृद्धि कृषक समूहले आफ्नो साधारणसभामा बिउ उत्पादन गर्ने ४० भन्दा बढी किसानलाई नगदसहित सम्मान गरेको छ। दुई बाली बिउ उत्पादन ३६ जना सेयर सदस्य किसानलाई नगद तीन हजार पाँच सय र एक बाली बिउ उत्पादन गर्ने १६ जना किसानलाई एक हजार पाँच सय रुपैयाँले सम्मान गरेको समूहका उपाध्यक्ष बोधराज सापकोटाले बताए।
भरतपुर १३, १४, २२, ०६, १५, २३, २१ लगायतका वडाका किसान समूहमा आबद्ध भएर बिउ उत्पादन गर्दै आएका छन्। यसबाहेक उत्कृष्ट किसान, बिउ बिक्री केन्द्र, सेयर सदस्यलाई पनि समूहले सम्मान गरेको थियो। नेपाल सरकारले प्रमाणित गरेका यहाँ उत्पादित उन्नत जातका बिउहरू पूर्व झापादेखि पश्चिम कैलालीसम्म बिक्री–वितरण हुने गरेका छन्।