‘तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ’

सोमबार, ८ असोज, २०८०
डिजिटल संस्करण

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा बरामद भएको सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोगलाई दोषीमाथि कारबाही गराउने कार्यक्षेत्र दिनुपर्ने बताएका छन्।

पार्टीको प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले छानबिन आयोग गठनमा ढिलाइ नगर्न र आयोगलाई नीतिगत सुधारको सिफारिस गर्ने कार्यक्षेत्रमा सीमित नगर्न सरकारसँग आग्रह गरे।

एमालेले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिनको माग राखेर अवरोध गर्दा संसद् चल्न नदिइएको आरोप लगाइएको उल्लेख गर्दै ओलीले अहिले लामो समयसम्म संसद् स्थगन हुनुले जनताका आवाज प्रस्तुत हुन नपाएको बताए। प्रमुख दलबीच सुन तस्करीको घटनाबारे छानबिन गर्न आयोग गठन गर्ने सहमति भए पनि कार्यक्षेत्रमा विवाद कायम छ।

सो अवसरमा उनले कार्यकर्तालाई आत्मकेन्द्रित नभई सबल राष्ट्रिय शक्ति निर्माणको लक्ष्यसहित जनहितलाई सफलीभूत पार्ने संकल्प लिएर अघि बढ्न निर्देशन दिए। उनले अधिवेशनले पार्टीका विरुद्ध भइरहेको षडयन्त्र र घेराबन्दीको समीक्षासहित त्यसलाई तोड्दै आगामी २०८४ सालको निर्वाचनको सामना गर्न सक्ने परिपक्व नेतृत्व चयन गर्न सकोस् भन्ने शुभकामना दिए।

सुझावित समाचार