खस्कियो चाडपर्वकेन्द्रित आयात

दसैँ–तिहारकेन्द्रित व्यापारले माग बढाउने अपेक्षाविपरीत भदौमा आयात खस्किएको छ

सोमबार, ८ असोज, २०८०
डिजिटल संस्करण

दसैँ–तिहारकेन्द्रित व्यापारले आन्तरिक बजारमा वस्तुको माग बढ्ने अपेक्षाविपरीत भदौमा आयात खस्किएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको दुई महिना (साउन र भदौमा) दुई खर्ब ५९ अर्ब ७४ करोडको वस्तु आयात भएको छ । यो गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा ५.०६ प्रतिशतले कम हो । गत आवको यो अवधिमा दुई खर्ब ७३ अर्ब ५९ करोडको वस्तु आयात भएको थियो । 

मासिक हिसाबले हेर्ने हो भने साउनको तुलनामा भदौमा आयात बढेको देखिन्छ । साउनमा एक खर्ब २९ अर्ब २३ करोडको वस्तु आयात भएको थियो । भदौमा थोरै बढेर एक खर्ब ३० अर्ब ५१ करोडको वस्तु आयात भएको विभागले जनाएको छ । मासिक आयातमा वृद्धि भइरहे पनि गत वर्षको भदौको तुलनामा यो वर्ष ११ अर्ब ८० करोडले आयात खस्किएको हो । 

अत्यधिक आयात हुने प्रमुख २० वस्तुहरूमा डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, हवाई इन्धन, फलामजन्य उत्पादन, स्टिल तथा फलामका पाता, स्मार्ट फोन, धान, रासायनिक मल, कोइला, भटमासको कच्चा तेल, सूर्यमुखीको कच्चा तेल, सुन, भटमासको पिना, मेडिकल उपचारका लागि आवश्यक सामग्री, अर्धनिर्मित फलामजन्य उत्पादन, छड, आटा, हवाईजहाज तथा पार्टपुर्जा र मकै छन् । यी वस्तुहरूको कुल आयात ४९ अर्ब ९३ करोड रुपैयाँ छ । कुल आयातमा यी वस्तुहरूको हिस्सा १९.२२ प्रतिशत छ । 

दुई महिनामा सात अर्ब ३४ करोड ७१ लाख २५ हजार रुपैयाँबराबरको डिजेल आयात भएको छ । पाँच अर्ब ४४ करोड ७० लाख ७६ हजार रुपैयाँबराबरको पेट्रोल, तीन अर्ब ८२ करोड सात लाख ३५ हजारको खाना पकाउने ग्यास, तीन अर्ब ७४ करोडको फलामजन्य उत्पादन र तीन अर्ब ३६ करोडको स्टिल तथा फलामका पाता आयात भएका छन् । दुई अर्ब आठ करोडको स्मार्ट फोन र दुई अर्ब ७७ करोडको धान आयात भएको छ । 

त्यस्तै, दुई अर्ब ३४ करोडको रासायनिक मल र दुई अर्ब ६ करोडको कोइला आयात भएको छ । विभागका अनुसार एक अर्ब ९५ करोडबराबरको भटमासको कच्चा तेल र एक अर्ब ७८ करोडको सूर्यमुखीको कच्चा तेल आयात भएको छ । एक अर्ब ६५ करोडको सुन, एक अर्ब ५७ करोडको भटमासको पिना, एक अर्ब ५५ करोडको मेडिकल उपचारको सामग्री, एक अर्ब ५४ करोडको अर्धनिर्मित फलामजन्य उत्पादन र एक अर्ब ५१ करोडको छड आयात भएको छ । त्यस्तै, एक अर्ब २१ करोडको आटा, एक अर्ब ११ करोडको हवाईजहाज तथा पार्टपुर्जा, एक अर्ब चार करोडको मकै र एक अर्ब १७ करोडको हवाई इन्धन आयात भएको तथ्यांकले देखाएको छ । 

 निर्यात खस्कियो
सोयाबिन र पामको कच्चा पदार्थ आयातमा कमी आउँदा निर्यातमा समेत गिरावट आएको छ । नेपालमा खेती नहुने, तर कच्चा पदार्थ प्रशोधन गरेर निर्यात गर्ने यस्तो तेलको निर्यात खस्किँदा समग्र निर्यात खुम्चिएको छ । चालू आवको साउन र भदौमा मात्र २६ अर्ब ४४ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा ७.७९ प्रतिशत कम हो । अघिल्लो आवमा २८ अर्ब ६८ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो । नेपालबाट कार्पेट, अलैँची, धागो, चिया, सिमेन्टजस्ता सामग्री निर्यात हुने गरेका छन् । 

 वैदेशिक व्यापार संकुचनमा
वस्तु आयात र निर्यात दुवैमा आएको कमीका कारण यस आवको पहिलो दुई महिनामा व्यापार घाटा र कुल वैदेशिक व्यापारसमेत खुम्चिएको छ । यस आवको पहिलो दुई महिनामा व्यापार घाटा दुई खर्ब ३३ अर्ब ३० करोड रुपैयाँ देखिएको छ । यो अघिल्लो आवको यसै महिनाको तुलनामा ४.७४ प्रतिशत कम हो ।

अघिल्लो आव दुई महिनामा दुई खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँबराबरको व्यापार घाटा थियो । कुल व्यापारको आधार दुई महिनामा दुई खर्ब ८६ अर्ब ६१ करोड पुगेको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा ५.३२ प्रतिशतले घटेको हो । अघिल्लो आवको पहिलो दुई महिनामा कुल वैदेशिक व्यापारको आकार तीन खर्ब दुई अर्ब २८ करोड रुपैयाँ रहेको थियो । यस वर्ष पहिलो दुई महिनामा वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.७६ र निर्यातको हिस्सा ९.२४ प्रतिशत रहेको देखिन्छ ।

सुझावित समाचार