राजनीतिक स्थायित्व र सुशासन दिन सके सबै समस्या समाधान हुन्छन् : राष्ट्रपति

शुक्रबार, ५ असोज, २०८०
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व र सुशासन कायम गरी विभिन्न जातजाति, क्षेत्र, वर्ग, लिंगका समस्या समाधानतर्फ सबै ध्यान केन्द्रित हुनुपर्ने बताएका छन्।

राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन बुझ्दै उनले राजनीतिलाई स्थायित्व दिएर सुशासन कायम गर्न सके सबैका समस्या समाधान हुने धारणा राखेका हुन्। अति पिछडिएको र विकट क्षेत्रमा सचेतना अभियान सञ्चालन गरे समाजका देखिएका विकृति–विसंगति हटाउन सहज हुने उनको भनाइ छ।

राष्ट्रपति पौडेलले नेपालमा दलितहरू बस्तीका कारण पनि पीडित बनेको उल्लेख गर्दै भने, ‘जहाँ–जहाँ असुरक्षित बस्ती छन्। त्यहीँ दलित समुदाय बसेका छन्। बर्सातको समयमा पहाडमा बाढीपहिरोबाट पीडित हुने दलित समुदाय नै छन्।  तराईमा पनि डुबानबाट दलित समुदाय नै पीडित बन्दै आएका छन्।’

राष्ट्रपति पौडेलले नेपालको संविधानअनुसार गठन भएका सबै संवैधानिक आयोगले आफ्नो वर्गको उत्थानका लागि लाग्न जरुरी रहेको धारणा राखे।

दलित अयोगका अध्यक्ष देवराज विश्वकर्माले आयोगको वार्षिक प्रतिवेदनमा आठ परिच्छेद र ११ वटा अनुसूची रहेको बताए। उनले दलित आयोगले २२ वर्षपछि फेरि दलितको जात र थरको नयाँ सूचीकरण गरेको पनि जानकारी दिए।

सुझावित समाचार