एनसेल आजियाटाले सेवा सञ्चालनकोे १८औँ वार्षिकोत्सव मनाएको छ । १७ सेप्टेम्बर २००५ बाट दूरसञ्चार सेवा सुरु गरेको यसको सुरुवातमा ‘मेरो मोबाइल’ नाम राखिएको थियो । कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत एवं प्रबन्ध निर्देशक जोर कायमोभले एक करोड ६० लाखभन्दा बढी नेपालीको अभिन्न अंग बन्न पाएकोमा खुसी व्यक्त गरे ।
‘एनसेल नेपाल र नेपालीलाई गुणस्तरीय सेवाले जोड्न प्रतिबद्ध छ र अब हामी देशको दूरसञ्चार आवश्यकता र प्रविधि विकासलाई सम्बोधन गर्न अझै जिम्मेवार बनेको हो,’ उनले भने, ‘साथै बहुसंख्यक नेपालीका लागि पाउन कठिन हुने सेवा–सुविधामा सहज पहुँच सुनिश्चित गराउने अब हाम्रो भिजन हुनेछ ।’ नयाँ यात्राको सुरुवातसँगै एनसेलले आफ्नो ब्रान्डको वाचा ‘आज, भोलि, सधैँ सँगै’अन्तर्गत रही हामी–तपाईंकै लागि थिम घोषणा गरेको छ ।
वार्षिकोत्सव अफरमा प्रत्येक ग्राहक विजेता
एनसेलले वार्षिकोत्सवको अवसरमा आकर्षक अफर पनि ल्याएको छ । एनसेलले ल्याएको अफरमा प्रत्येक ग्राहक विजेता बन्नेछन् । ‘एभ्री कस्टमर इज अ विनर’ अफरमा २८ दिनसम्म केही न केही सेवा सरप्राइज लोयल्टी गिफ्ट पाउनेछन् । यस अफरमा एन्ट्रिक्सन ७११७ ह्यास डायल गर्ने ग्राहकले दैनिक, साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्न सक्नेछन् ।
दैनिक उपहारमा ग्राहकले एनसेलका सेवा कुनै पनि शुल्कविना प्राप्त गर्न सक्छन् । प्रत्येक हप्ता एनसेलका एक हजार ग्राहकले १०० ब्यालेन्स पाउनेछन् र अफरको अन्त्यमा सातजना भाग्यशाली ग्राहकले सातवटा स्कुटर पाउनेछन् । साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्न ग्राहकले अफर अवधिभर एनसेल सेवाहरू प्रयोग गरेको हुनुपर्छ र एनसेलका बारेमा रचनात्मक नारा एनसेल एप वा एनसेल वेबसाइटमार्फत पठाउनुपर्नेछ ।
त्यस्तै, आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (बिएसआर) र थिम हामी–तपाईंकै लागि एनसेलले राष्ट्रिय प्यारालम्पिक समिति नेपालसँग सहकार्यको घोषणा गरेको छ । जसअन्तर्गत कम्पनीले राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने प्यारालम्पिक राष्ट्रिय खेलाडीलाई सहयोग गर्नेछ ।
त्यस्तै, एनसेलले ‘एटिन फर एटिन अर्थात् १८ वटा कार्यक्रम पनि घोषणा गरेको छ । यसअन्तर्गत एनसेलले सातवटै प्रदेशका गैरनाफामूलक संस्थाहरूबाट आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको छ ।निश्चित मापदण्ड र प्रक्रिया पु¥याएर छानिने त्यस्ता सिएसआर आयोजनाका लागि कम्पनीले प्रतिपरियोजना १० लाख रुपैयाँ प्रदान गर्नेछ ।
कम्पनीले विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्यलगायतका विभिन्न क्षेत्रहरूका सामाजिक परियोजनाहरूमा एक अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ । सबैभन्दा ठूलो करदातामध्ये एकका रूपमा, एनसेलले अर्थतन्त्रमा प्रभावकारी योगदान पुर्याउँदै आएको छ र आफ्नो स्थापनाकालदेखि कर र शुल्कबापत दुई अर्ब ८३ करोडभन्दा बढी तिरिसकेको छ ।