‘नेम्वाङको निधनसँगै संसदीय सूचनाको प्रमुख स्रोत गुमेको छ’

मंगलबार, २६ भदौ, २०८०
डिजिटल संस्करण

संविधानसभाका अध्यक्ष एवं नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनसँगै संसद् र संसदीय मामिलासम्बन्धी विधामा काम गर्ने सञ्चारकर्मीको सूचनाको प्रमुख स्रोत गुमेको छ। 

लामो समयसम्म सभामुखको भूमिकामा रहेका कारण संसदीय सूचना प्राप्त गर्ने सन्दर्भमा सबै सञ्चारगृहका लागि उनी समाचार स्रोतका रूपमा थिए। 

पत्रकारलाई सधैँ ‘स्थायी समिति सदस्य’ भनेर सम्बोधन गर्ने संविधानसभाका अध्यक्ष नेम्वाङ संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलबीच भइरहेका कुराकानी, उठेका प्रश्न, समस्या समाधानका लागि चालिएका कदम र सम्भावित चुनौतीबारे सूचना उपलब्ध गराउँदै पुष्ट्याइँका लागि सहयोगसमेत गर्थे। 

राष्ट्र, राष्ट्रियता र समाजका विभिन्न विधाका विषयमा पनि उत्तिकै चासो र चिन्ता राख्नुहुने नेम्वाङको कार्यकक्ष सबैखाले सञ्चारकर्मीका लागि हरदम खुला रहन्थ्यो।

संविधानसभाका अध्यक्ष नेम्वाङसित भेट्न र सम्पर्क गर्न बेग्लै पहुँच स्थापित गर्न आवश्यक थिएन । उनको कार्यकक्षमा सधैँजसो पत्रकारको जमघट भइरहन्थ्यो। सधैँ सूचना प्राप्त भइरहन्थ्यो। आफ्ना केही भनाइ वा दृष्टिकोण सञ्चारमाध्यममा ल्याउनुपर्याे भने हार्दिकताका साथ यस्तो विषयले तपाईंहरूको सञ्चारमाध्यममा स्थान पाउँदैन ? भनी उनी जिज्ञाशा राख्थे।

पुष्ट्याइँविना आएका कतिपय समाचारप्रति टिप्पणी गर्दै नेम्वाङले ‘व्यंग्यात्मक’ शैलीमा भन्थे, ‘समाचारको स्रोतचाहिँ को हो ? त्यहाँ त केही देखिँदैन, मैले भनेको छैन।’

संसदीय मामिला पत्रकार समाजका पूर्वअध्यक्ष नारायण काफले भने, ‘संसदीय खुलापन, संसदीय अभ्यास र सञ्चार जगतको पहुँच स्थापित गराउने हिसाबले उहाँ हाम्रो अभिभावक नै हुनुहुन्थ्यो, संसदीय पत्रकारले एक मार्गदर्शक गुमाएको छ।’ रासस 
 

सुझावित समाचार