विश्व च्याम्पियनसिपमा विकासको राष्ट्रिय रेकर्ड

१६ वर्षपछि विश्व भारोत्तोलन च्याम्पियनसिपमा सहभागिता जनाएको नेपालका विकास भट्टले पुरुष ८१ केजी तौलसमूहमा तीन नयाँ रेकर्ड राखे

मंगलबार, २६ भदौ, २०८०
डिजिटल संस्करण

नेपाली भारोत्तोलन खेलाडी विकास भट्टले रियादमा आइडब्लुएफ विश्व च्याम्पियनसिपमा तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । पुरुष ८१ केजी तौलसमूहमा विकासले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी रेकर्ड राखेका हुन् ।

नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठका अनुसार विकासले आफ्नै नाममा रहेको तीनवटै कीर्तिमानमा सुधार गरेका हुन् । उनले स्न्याचमा १२४ केजी भार वहन गरी पूर्ववत् १२३ केजीको रेकर्ड तोडे । यसअघि उनले १९औँ एसियाली खेलकुदको अन्तिम छनोटमा रेकर्ड बनाएका थिए ।

उनले क्लिन एन्ड जर्कमा १४८ केजी वजन उठाउँदै अर्को कीर्तिमान कायम राखे । यसअघि उनले १९औँ एसियाली खेलकुदकै पहिलो चरणको छनोटमा १४७ केजी उचालेका थिए । उनले समग्रमा उचालेको २७२ केजी पनि राष्ट्रिय कीर्तिमान हो । उनकै नाममा २७० केजीको कीर्तिमान थियो । विकास १९औँ एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् ।

अध्यक्ष श्रेष्ठ प्रतियोगिताका दौरान हुने विश्व भारोत्तोलन महासंघको कंग्रेसमा सहभागी हुन सोमबारै रियाद प्रस्थान गरेका छन् । खेलाडी सागर भण्डारी पनि सोमबारै रियाद प्रस्थान गरे । सागरले पुरुष १०९ केजीमा प्रतिस्पर्धा गर्नेछन् । नेपालले १६ वर्षपछि विश्व भारोत्तोलन च्याम्पियनसिपमा सहभागिता जनाएको हो ।

सुझावित समाचार